काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट : १० घरमा क्षति, ११ जना गम्भिर घाइते

काठमाडौं, असोज २९ । काठमाडौं महानगरपालिका १६, नयाँ बजारस्थित फलफूल चोकमा नीलकुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना गम्भिर घाइते भएका छन् । ग्यास खोल्दा ‘लिक’ भएर बिस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपनि यकिन पत्ता लाग्न सकेको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बिस्फोटबाट क्षेत्रीको चारतले घर ध्वस्त भएको छ भने अन्य १० वटा घरमा क्षति पुगेको छ । क्षेत्रीको घरसँगै अन्य घर पनि जोडिएकाले क्षति भएको हो । किरियापुत्री बसेका क्षेत्रीको घरका तीनजना घाइते छन् । अरु घाइते छिमेकी भएको बताइएको छ ।

ग्यास विस्फोटपछि आगलागी भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेको छ । घरमा एउटा मात्रै सिलिन्डर थियो वा अरु थिए खुल्न सकेको छैन । यसबारे आफन्त होसमा आएपछि मात्रै थप खुल्ने प्रहरीले जानकारी दिएको छ ।

घटनामा घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छिमेकीहरुले भने भान्सामा चार वटासम्म ग्यास सिलिन्डर भएको हुनसक्ने आकलन गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको