
चितवन । चितवनको राप्ती नगरपालिका २ मा रहेको दीपशिखा सहकारीले रासायनिक मलको बिक्री वितरणमा कालोबजारी गरेको पाइएको छ । भारतीय अवैध मल र सरकारले उपलब्ध गराएको रासायनिक मलमा कालोबजारी गरी बिक्री गरेको पाइएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।
भारतीय अवैध मल लुकाई छिपाई बढी मूल्य कायम गरी बेचेको गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत ईश्वर सिंखडाको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अवैध मल भेटिनुका साथै सरकारले अनुदानमा दिएको मल बढी मूल्यमा बिक्री गरेको पाइएको सहायक प्रजिअ शर्माले जानकारी दिए । सो क्रममा अपचलन गरेको २९६ बोरा मल जफत समेत गरिएको छ । सम्बन्धित स्थानीय तहले जफत गरिएको मललाई उचित मूल्य कायम गरी कृषकलाई बिक्री गर्न निर्देशन दिइएको शर्माले बताए । यद्यपि स्थानीय तहले मल बिक्री गरेर प्राप्त भएको राजस्व रकम दाखिला गरी त्यसको रसिद जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ । त्यस्तै कालोबजारी गर्ने उक्त सहकारी संस्थालाई कारबाही गर्न निर्देशन पनि दिइएको शर्माले बताए ।
मल अपचलन गरेको पाइएपछि सहकारीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने बिहीबार नै निर्णय समेत भएको छ । अनुदानको मल बढी मूल्यमा बिक्री गरेको पाइएपछि यस अघि चितवनकै रत्ननगर १ मा रहेको निर्मल बहुउद्देश्यीय सहकारी समेत कारबाहीमा परेको थियो ।