भरतपुर, २७ भदौ । केही दिन संक्रमणको दर घटेको चितवनमा पुन: कोरोना भाइरसको संक्रमण बढेको छ । शुक्रबार ७१ जनामा कोरोना पोजेटिभ देखिएकोमा शनिबार बिहान सार्वजनिक विवरणमा जिल्लाका थप ८७ जनामा पोजिटिभ देखिएको छ ।
भरतपुर अस्पताल मातहतमा रहेको भरतपुर कोभिड १९ परिक्षण प्रयोगशालामा शुक्रबार राती १२ बजे सम्म ५३३ नमुना परिक्षण गरिएकोमा ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा ५० जना पुरुष र २३ जना महिलामा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
सुरुमा कम संक्रमित रहेको जिल्लाको कालिका नगरपालिकामा पोजिटिभ केश देखिने क्रम बढेको छ । पछिल्लो विवरण अनुसार कालिकामा ८ जनामा कोरोना पोजिटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका उनीहरु ६ जना पुरुष र २ जना महिला छन् । त्यस्तै खैरहनी नगरपालिकामा ४ जनामा पोजिटिभ केश देखिएको छ । यहाँ २ जना पुरुष र २ जना महिला छन् । उनीहरु सबै क्वारेन्टाइनका हुन् । रत्ननगर नगरपालिकामा २ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै जना महिला हुन् ।