
गोरखा । गोरखामा आज देखि निषेधाज्ञा हटेको छ । भदौ १ गतेदेखि जारी निषेधाज्ञा सोमवारदेखि हटाइएको हो । आइतवार बसेको कोभिड–१९ को रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले जारी निधेषाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
निधेषाज्ञा हटेसँगै जिल्लाभित्र आन्तरिकरुपमा व्यक्तिगत प्रयोजनका लागि निजी सवारी साधन समेत सञ्चालन गर्न दिने बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । तर त्यस्ता सवारी साधनमा चालकसहित तीन जनाभन्दा बढी यात्रु चढ्न पाइने भने नपाइने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । प्रजिअ भट्टराईले जिल्लाभित्र सार्वजनिक यातायात भने तत्काल सञ्चालन गर्न दिने अवस्था नरहेको बताउनुभयो ।
त्यस्तै सोमबारदेखि नै जिल्लाभित्र होटल, ब्यूटीपार्लर, शैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरि सञ्चालन गर्न दिने निर्णय भएको छ ।
जिल्लाभित्र अत्यधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराई बताउनुभयो ।
छिमेकी जिल्ला तनहुँ, चितवन र धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि गोरखा जिल्ला यही भदौ १ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा गरी गरिएको थियो ।