चितवन । पूर्वी चितवनको कालिका ८ गैरीवारी चोक, शक्तिखोरमा रहेको कालिका सव–डिभिजन वन कार्यालयका ५ जना कर्मचारीमा कोरोना पुष्टि भएसँगै सो क्षेत्रमा कोरोना समुदायमा फैलिएको आशंका गरिएको छ । सो कार्यालयका ५ जनामा आज कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
ती पाँचैजना सोही वन कार्यालयको आइसोलेसनमा बसेका छन् । कार्यालयमा कार्यरत २ महिला कर्मचारी र १ पुरुषलाई आजै भिमोदय मा. वि. को क्वारेन्टाईनमा पठाएको बताइएको छ । सोही कार्यालयमा कार्यरत कालिका ९ शक्तिखोरका १ पुरुष कर्मचारी दीर्घरोगी रहेको र उनी मनकामना अस्पतालबाट उपचार पश्चात् आज घर फर्किएका छन् । उनमा खोकी लगायतको लक्षण देखिएको स्थानीयले जानकारी दिए । उनको पनि स्वाव परीक्षणको लागि पठाइएको स्थानीयले बताए । सो शक्तिखोर क्षेत्रमा केही व्यक्तिहरुमा रुघाखोकी र ज्वरो लगायतका लक्षण देखिए पछि स्थानीयहरु त्रसित भएका हुन् ।
सो कार्यालयका कर्मचारीहरु समुदायमा आवतजावत भएकाले स्थानीयहरु त्रसित हुन पुगेका हुन् । वन कार्यालयका कर्मचारीहरुका कोरोना पोजेटिभ देखिएपछि सो क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ्ग गरिएको कालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए । सो क्षेत्रका करिव ५० जनाको कन्ट्याक्ट ट्रेसिङ्ग गरिएको उनले बताए । साथै सो क्षेत्रका बासिन्दाहरुलाई घर बाहिर ननिस्कन समेत अनुरोध गरिएको उनले बताए ।
https://www.kalikadainik.com/2020/08/29/16448/