नेपालमा कोरोना संक्रमण: थप ९ जनाको मृत्यु, मृतकको संख्या १९२ पुग्यो

काठमाडौं, १२ भदौ । कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९२ पुगेको छ । कोरोना संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा १ जनाको मृत्यु भएको छ । भदौ ७ गते भर्न भएका तिलोत्तमाका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । त्यस्तै कास्कीको पोखरामा कोरोना संक्रमणबाट पोखरा महानगर १६ का ५२ वर्षीय पुरुषको शुक्रबार अस्पतालको गेटमै मृत्यु भयो ।

मोरङको विराटनगरमा पनि एक महिलाको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा सिरहाको लहान घर भएकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङकी एक महिलाको आज मृत्यु भएको छ । बेलबारी घर भएकी ५६ वर्षीया महिलाको उपचारका क्रममा बिहान मृत्यु भएको हो ।

चितवनमा कोरोनाका कारण दुई जनाको शुक्रबार ज्यान गएको छ । चितवनको पुष्पाञ्जली अस्पतालमा भरतपुरका ५१ वर्षीय पुरुष र चितवन मेडिकल कलेजमा मकवानपुरको हेटौँडाकी ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यस्तै झापाको दमकका ८३ वर्षीय पुरुषको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै भक्तपुरमा पनि ६५ वर्षीया महिलाको मृत्यु भएको छ । गठ्ठाघरकी ती महिलाको नागरिक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएका उदयपुरका एक ५२ वर्षीय पुरुषको पनि कोरोना पुष्टि भएको छ । ती पुरुषको गएको ९ गते अस्पतालमा उपचार सुरु भएसँगै ज्यान गएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको