
चितवन ।चितवनमा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति ९ बजेसम्म गरिएको परीक्षणमा खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र पूर्वी नवलपरासी गैंडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
यसैगरि बिहीबार संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै खैरहनी नगरपालिकाका रहेका छन् । खैरहनी नगरपालिकामा पहिलोपटक एकैदिन १२ जना संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि हुनेमा खैरहनी–३, ५, ८, ९ र १२ नम्बर वडाका ५ जना पुरुष र ७ जना महिला रहेका छन् । पुरुषहरु ३८ देखि ७५ वर्ष उमेर समूहका छन् भने महिलाहरु ६ वर्षीया बालिकादेखि ३६ वर्ष उमेर समूहका छन् ।
यससंगै खैरहनीमा कुल संक्रमितको संख्या २९ पुगेको छ ।
यस्तै रत्ननगर नगरपालिका–८ का ७९ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनी क्वारेन्टिनमा रहेकी थिइन् । योसंगै चितवनमा कुल संक्रमितको संख्या ४८७ पुगेको छ ।
त्यसैगरि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–८ का २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनको पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
भरतपुर अस्पताल प्रयोगशालामा बिहीबार कुल ३३४ नमुना परीक्षण गरिएको थियो ।