चितवन, भदौं ५ । चितवनमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो । यस्तै राप्ती नगरपालिकाको वडा नं.२ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए ।
यसैगरि संक्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक/एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले जानकारी दिइन् ।
नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको थियो । चितवनमा आज २२ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३०३ पुगेको छ ।