शिशिर सिंखडा, चितवन। आइतबार काठमाडौंको गोङबुमा मृत भेटिएका व्यक्तिको हत्या आरोपमा चितवनबाट ३ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) नान्तीराज गुरुङको नेतृत्वमा खटिएको टोलिले गए राती पुर्बी चितवनको रत्ननगर १५, माधवपुरबाट उनिहरु लाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कल्पना मुडवरी, निता मुडवरी र निरज मुडवरी रहेका छन । स्थाई घर चितवनको कालिका ८, शक्तिखोर भै काठमाडौंको सामाखुसीमा अस्थायी रूपमा बस्दै आएका उनीहरुलाई चितवन प्रहरीले चितवनको माधवपुरबाट पक्राउ गर्न सफल भएको हो । उनिहरुलाई हत्या घटनाको थप अनुसन्धानको लागि काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिनुभयो ।
प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।
काठमाडौंको गोङबुमा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो ।
प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानभन्दा ५० मिटर पर नव ज्योतिमार्ग स्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।