काठमाडौं, २६ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माइली बुहारीले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति अपमानजनक शब्द बोलेकी छिन् ।
प्रधानमन्त्री ओलीलाई दाहालकी बुहारी सिर्जना त्रिपाठीले ‘लाजको पसारो’ भनेर अपमान हुने शब्दावली प्रयोग गरेकी हुन् । त्रिपाठीले फेसबुकमा ओलीविरुद्ध अभिव्यक्ति दिएकी हुन् ।
माडी नगरपालिकका जनप्रतिनिधिहरूसँग ओलीद्वारा गरिएको कुराकानीको तस्वीर र घर जलेको तस्वीर राखेर अपमानजनक शब्दावली लेखेकी छिन् ।
तस्वीरसँगै दाहालकी बुहारी त्रिपाठीले लेखेकी छिन्, ‘सत्ता र शक्तिको उन्मादले अन्धो बनाएको एक दृष्य । लाजको पसारो ।’ त्रिपाठीको यो हर्कतले नेकपाभित्र तरंग उत्पन्न गरिदिएको छ ।
नेकपाभित्र दाहालले ओलीको राजीनामा माग गरेर उत्पात मच्चाइरहेका बेला जेठी बुहारी त्रिपाठीले समेत ओलीप्रति घृणा र वितृष्णा मच्चाउने गरेर तस्वीर र स्टाटस लेखेकी छिन् ।
फेसबुकको स्टाटसलाई लिएर आलोचना भएपछि त्रिपाठीले सो स्टाटस हटाएकी छिन् । सो स्टाटसपछि त्रिपाठीको चौतर्फी आलोचना भएको छ ।
त्रिपाठी स्व.साकार दाहालकी माइली पत्नी हुन् । जेठी पत्नीसँग सम्बन्ध विच्छेद गरेपछि साकार दाहालले कास्कीकी त्रिपाठीसँग विवाह गरेका थिए । त्रिपाठी हुँदा हुँदै साकार दाहालले तेस्रो पत्नी बिना मगरलाई विवाह गरेका थिए ।
बिना मगर ओली नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ मन्त्रीका रुपमा छिन् ।