
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई निर्देशन दिनुभएकाे छ । प्रधानमन्त्रीले शनिबार माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा गर्दै अयोध्याधामको काम शुरु गर्न निर्देशन दिाुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न निर्देशन दिनुभएको भएको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । नगरपप्रमुख महतोका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताउनुभएको थियो ।
ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताउनुभएको उपप्रमुख महतोले उल्लेख गर्नुभयो । माडीमा सहज यातायातका लागि समेत असुविधा भएको जनाउँदै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए ।
स्थानीय जनप्रतिधिको मागलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गरिने विश्वाससमेत दिलाउनुभएको उपप्रमुुख महतोले जानकारी दिनुभयो । केहीदिन अघि चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको जनाउँदै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । आग्रहलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले वन तथा वातावरण मन्त्रालय र निकुञ्ज कार्यालयलाई आवश्यक निर्देशन दिइने बताउनुभएको थियो । छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।