संक्रमणको जोखिम नभएका क्षेत्रमा भदौदेखि विद्यालय खोल्ने गृहकार्य

काठमाडौं । स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस संक्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्र्ने गरी नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले यस्तो आन्तरिक तयारी थालेका हुन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहको परिस्थितिअनुसार विद्यालय खोल्ने तयारी गर्न विद्यालयलाई आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार सबै विद्यालयलाई खोल्न आग्रह गरिएको छैन, स्थानीय तहमा कोरोना भाइरसको संक्रमण नभएको, स्थानीय स्वास्थ्यकर्मी र शिक्षाविद्सँग आवश्यक परामर्श गरेर मात्र विद्यालय खोल्ने तयारी भइरहेको छ ।
सामाजिक दूरी कायम राख्ने कुरा चुनौतीपूर्ण भए पनि स्वास्थ्य सेवाका अन्य मापदण्ड पूरा गरेर भदौदेखि विद्यालय खोल्न सकिने श्रेष्ठले भनाई छ । नेपाल नगरपालिका सङ्घका महासचिव भीम ढुङ्गानाले स्थानीय तहका विद्यालयमा रहेका क्वारेन्टाइन क्रमशः खाली हुँदै गएकाले परिस्थितिअनुसार विद्यालय खोल्ने आन्तरिक तयारी भएको बताउनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसीप्रसाद थपलियाले नेपालका ४३ प्रतिशत विद्यालयमा सय जनाभन्दा कम विद्यार्थी भएकाले विद्यालय खोल्दा खासै भीडभाड नहुने बताउनुभयो । उहाँका अनुसार कम विद्यार्थी भए पनि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भने नियमित सावधानी अपनाउनुपर्ने हुन्छ । यसका लागि कार्यविधि समेत बनाउने तयारी भइरहेको छ । गोरखापत्र दैनिकबाट

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको