
चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।
लगातारको वर्षाले डाइभर्सन राखिएको कल्र्भट बगाएको गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । प्रहरी निरीक्षक थापाले शनिबार बिहान ४ बजेबाट सडक अवरुद्ध भएको जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा नारायणगढ–बुटवल आउजाउ गर्ने सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक बिस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । यसअघि बनाएको डाइभर्सन बगाएपछि कम्पनीले नयाँ बनाउने तयारी गरिरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडक बिस्तार कार्य भइरहेको छ ।