सरकारी विद्यालयको प्राचार्य छाडेर केरा खेतीबाट मनग्य आम्दानी गर्दै चितवन कालिकाका किसान फणिन्द्र लामिछाने

शिशिर सिंखडा, चितवन । चितवनका एक युवाले सरकारी विद्यालयको प्राचार्य जागिर छाडेर केरा खेती गरी मनग्ये आम्दानी लिन सफल भएका छन् । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलका ४० वर्षीय फणिन्द्र लामिछाने १३ वर्षसम्म शिवालय प्राथमिक विद्यालय गुरौचउरमा शिक्षक थिए । २ वर्ष उनी सोही विद्यालयमा प्राचार्य समेत रही प्राध्यापन गरेका थिए ।

         

वि.सं. २०७१ सालमा प्राचार्य हुँदा हुँदै राजीनामा दिएर सोही सालबाट केरा खेती गर्न थालेका लामिछानेले अहिले ११ बिगाहा क्षेत्रफलमा केरा खेती गरेका छन् । १ बिगाहा आफ्नै बारी र १० बिगाहा जग्गा भाडामा लिई केरा खेती गरेको उनले बताए । कृषि कर्मबाट आत्मसन्तुष्ट भएका लामिछानेले केरा खेतीबाट वार्षिक २५ लाख रुपैया नाफा आर्जन गर्ने गरेको उनले बताए ।

युरोप, अमेरिका, खाडी मुलुकहरुमा गएर विदेशी भूमिमा पसिना बगाउनु भन्दा आफ्नै मातृभूमिमा केरा खेती गर्दा आफूलाई आत्मसन्तुष्टि मिलेको समेत उनको भनाइ थियो । प्रधानमन्त्री कृषि परियोजना इकाई, केरा जोन चितवनका सचिव समेत रहेका लामिछानेले उत्पादन गरेको केरा काठमाडौँ, पोखरा, दाङ लगायत देशका विभिन्न शहरहरुमा पुग्ने गर्दछ ।

केरा किसानले आवश्यक मात्रामा जग्गा भाडामा नपाउने र पाइहाले पनि केरा खेतीलाई महङ्गो भाडा पर्ने भएकोले केरा खेती गर्ने किसानलाई समस्या पनि रहेको उनले बताए । समयमा आवश्यक मात्रामा रासायनिक मल नपाउँदा केरा उत्पादन समेत घट्ने गरेको उनको दुःखेसो थियो । नेपालमा उत्पादन भएका केरा हुँदा हुँदै सरकारले भारतबाट केरा ल्याउन दिँदा पनि स्वदेशी किसानलाई समस्या भएको उनको भनाइ थियो ।

एकातिर बजारमा विदेशी केराको हस्तक्षेप छ भने अर्कोतर्फ केरामा लाग्ने रोग नियन्त्रणमा सरकारी निकायबाट आवश्यक समन्वय र सहयोग नहुँदा केरा किसानहरु समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको