खैरहनी नगरपालिका द्वारा कृषकलाई निशुल्क बाली बीमा र विना व्याज ऋण कार्यक्रम

चितवन । चितवनको खैरहनी नगरपालिका कृषि र पशुपालनमा अव्वल मानिन्छ । पछिल्लो समय यहाँ उद्योगहरु पनि खुल्ने क्रम वढ्दो छ । तर यस नगरपालिकाको मुख्य आधार कृषि र पशुपालन व्यवसायनै हो । कृषि र पशुपालनमा युवाहरुको आर्कषण अझ वढाउन नगरपालिकाले किसानमैत्री निति तथा कार्यक्रम ल्याएको छ ।

हालै सम्पन्न सातौ नगर सभा मार्फत कृषि र पशुपालनको दिगो विकासका लागि पर्याप्त वजेट समेत विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि लिईएको निति तथा कार्यक्रममा यहाँका कृषकहरुले आफ्नो बालीको बीमा निशुल्क गर्न पाउने भएका छन् । कृषकहरुले लगाउने बाली बीमा गर्दा संघीय कानुन वमोजिम कृषकले व्यहोर्नु पर्ने प्रिमियम शुल्क नगरपालिकाले व्यहोर्ने खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले वताए । प्रिमियम अनुदानका लागि आगामी वर्षका लागि नगरपालिकाले ६ लाख रुपैया विनियोजन समेत गरेको छ ।

यो निति कार्यान्वयन पछि कृषकहरुले निशुल्क बाली बीमा गर्न पाउने मेयर चौधरीले जानकारी दिए । मेयर चौधरी स्वयम कृषिका विद्यार्थी हुन् । तरकारी वाहेक अन्य कृषि बालीको बीमा नहुँदा किसानले वर्षेनी क्षती व्यहोर्नु परेको छ । कृषक आफै पनि बीमामा जागरुक छैनन् मेयर चौधरीले भने – नगरपालिकालेनै बीमा गरिदिएपछि विभिन्न प्रकोपबाट हुने क्षतीबापत किसानले राहत पाउनेछन् । बीमा भएपछि क्षती बापत राहत दिनु नपर्ने र बीमा मार्फत क्षतीपूर्ती पाउने मेयर चौधरीको भनाई छ । वैशाख अन्तिम साता आएको हावाहुरीले नगर भित्रका तरकारीमा क्षती पुर्याएपछि नगरपालिकाले आन्तरीक श्रोतबाट यहाँका किसानलाई करिव ११ लाख रुपैया राहत स्वरुप प्रदान गरेको थियो ।

कृषिका लागि निशुल्क बीमा गर्ने निति लिएको खैरहनी नगरपालिकाले युवाहरुलाई कृषिमा आकर्षित गराउन विना व्याज ऋण समेत प्रदान गर्दैछ । ऋण लगानीका लागि ५९ लाख रुपैया घुम्ती रि फण्ड कोषका लागि विनियोजन गरिएको नगरपालिका उपमेयर सुनिता थपलियाले वताईन् । ऋण लगानी गर्दा कुनै वित्तिय संस्थासंग सम्झौता गरि वित्तिय सस्ंथाले ऋण लगानी गर्ने र त्यसको व्याज नगरपालिकाले व्यहोर्ने उपमेयर थपलियाले जानकारी दिईन् । कृषि विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षका लागि खैरहनी नगरपालिकाले ४ करोड ४० लाख ६० हजार रुपैया विनियोजन गरिएको छ । जस मध्ये २ करोड २५ लाख रुपैया नगरले मात्रै विनियोजन गरेको हो । चालु आर्थिक वर्षमा कृषिको वजेट १ करोड २५ लाख रुपैया थियो ।

कृषिमा जस्तै पशुपालनका क्षेत्रमा पनि खैरहनी नगरपालिकाले उदारता देखाएको छ । बेरोजगार तथा विदेशबाट फर्किएका युवालाई मागका आधारमा पशुपालन व्यवसाय संचालनका लागि घुम्ती कोष मार्फत निव्याजी ऋण उपलव्ध गराईने भएको छ । त्यसका लागि २० लाख रुपैया विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । पशु विकास कार्यक्रम संचालनका लागि २ करोड १४ लाख ५० हजार रुपैया विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । पशु विकास कार्यक्रमका लागि खैरहनी नगरपालिकाले मात्रै १ करोड २५ लाख रुपैया छुट्याएको छ । चालु वर्षमा पशु विकास कार्यक्रममा ७५ लाख रुपैया मात्र थियो ।

कृषि विकास कार्यक्रम र वजेट –
१. मिनि वा डिजिटल मोवाईल ल्याव स्थापना माटो परिक्षण,प्लान्ट क्लिनिक र आकस्मिक प्रयोगशाला सेवा संचालन – वजेट १० लाख ।
२. युवालाई कृषिमा आकर्षण वढाउन घुम्ती रि फण्ड कोष – वजेट ५९ लाख ।
३. साना सिंचाई कार्यक्रम – वजेट २० लाख ।
४.कृषि प्रविधि विस्तारका लागि सामाग्री वितरण – वजेट १५ लाख ।
५. मौरी पालन गर्ने कृषकहरुको सहलगानीमा मागमा आधारित कार्यक्रम – वजेट १५ लाख ।
६. केरा उत्पादक कृषकहरुको सहलगानीमा व्यवसायिक रुपमा उत्पादित केराको प्रशोधन,उद्योग स्थापना – वजेट १५ लाख ।
७.नयाँ प्रविधिमा आधारित मेशीनरी औजार अनुदानमा वितरण गर्ने कार्य – वजेट ३० लाख ।
८.बाली बीमा कार्यक्रम – वजेट ६ लाख ।
९.वहुउदेश्यीय नर्सरी स्थापना कार्यक्रम – वजेट २ लाख ।
१०. मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रम – वजेट ४० लाख ।
११.खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम – वजेट २४ लाख ।
१२.अन्नवाली तथा तरकारी बीमा उत्पादन तथा सुरक्षित भण्डारण गर्ने कृषकहरुलाई प्रोत्साहन गर्न अनुदान – वजेट १५ लाख रुपैया
पशु विकास कार्यक्रम तथा वजेट – 
१. दुग्ध उत्पादक किसानलाई दुधमा अनुदान कार्यक्रम – वजेट २५ लाख ।
२. दुग्ध उत्पादक सहकारीको सहकार्यमा दुग्ध प्रशोधन उपकरण खरिद – वजेट ३० लाख ।
३. बीउ उत्पादन तथा सुरक्षित भण्डारण गर्ने कृषकलाई अनुदान – वजेट ३ लाख ।
४. उन्नत जातको बोयर बोका वितरण कार्यक्रम – वजेट ३ लाख ।
५. सहकारीको सहलगानीमा दाना उद्योग स्थापना कार्यक्रम – वजेट १५ लाख ।
६. माछाको साना व्यवसायि कृषि उत्पादन केन्द्र विकास कार्यक्रम – वजेट १५ लाख ।
७. माछा किसानलाई मागको आधारमा समुहगत कार्यक्रम संचालन तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम – वजेट ५ लाख ।
८.युवालाई पशुपालन व्यवसाय संचालन कार्यक्रम घुम्ती कोष – वजेट २० लाख ।
विपन्न परिवार लक्षित वाख्रा पकेट प्याकेज कार्यक्रम – वजेट ५ लाख । १०. नश्ल सुधार तथा कृतिम गर्भाधान कार्यक्रम – वजेट १० लाख

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको