चितवन ४ असार । हिजो बिहानदेखि पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको छ । अविरल बर्षाका कारण हिजो विहान ४ः१५ बजेदेखि सो क्षेत्रमा पहिरो खस्न थालेको थियो । सो सडक खण्डको इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला भन्ने स्थानमा निरन्तर बर्षाका कारण पहिरो खसिरहेको छ । सो सडक दुई तर्फी हुन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बाटो बन्द भएपछि सयौं सवारी साधनहरु बाटोमै रोकिएका थिए भने सो सवारी साधनमा यात्रारत यात्रुहरुको बिचल्ली भएको थियो । लकडाउन खुकुलो भएसंगै सवारी आगमन बढेकाले बाटोमा सवारीको लाम लागेको थियो । वर्षायामसंगै यस सडकखण्डमा पहिरो खस्न थालेको छ । सो पहिरो खसेको स्थानमा पहिरो नियन्त्रणका लागि जाली समेत लगाईएको थियो ।
हिजो बिहान देखि अबरुद्ध सो सडक साँझ केहिबेर एक तर्फी सञ्चालनमा आएपनि केहि बेरमै पुनः पहिरो आई अबरुद्ध भएको थियो । सो स्थानमा दुई वटा एक्साभेटर र एउटा लोडरले पहिरो हटाउने काम गरि रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer