
काठमाडौं । पत्रकार सुद्दिकरणका नाममा नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले कृयाशिल पत्रकारहरुलाई सदस्यबाट हटाउने कार्य गरेकोमा प्रेस संगठन बाग्मती प्रदेशले गम्भीर आपत्ति जनाएको छ ।
संगठनका बाग्मती इन्चार्ज तथा संयोजक विश्वमणि सुुवेदीले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारहरुको शुद्धिकरणका नाममा बितण्डा सिर्जना गर्ने काम भएको उल्लेख गरेका छन् ।
विश्व मानव समुदाय यतिबेला कोभिड– १९ (कोरोना भाइरस) विरुद्ध लडिरहेको वर्तमान सन्दर्भमा विश्वको ध्यान नै कोरोना संक्रमणबाट सुरक्षित हुनेमा केन्द्रित भइरहँदा पत्रकार महासंघ दोलखामा भने धुन्धुकारी शैलीबाट शुद्धिकरणको नाममा बजाइएको बेमौसमे बाजा तत्काल बन्द गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठनका तर्फबाट महासंघमा प्रतिनिधित्व गर्ने साथीहरुलाई यस्तो समयमा साथीहरुबीच विवाद र विग्रह फैलाउने काममा नलाग्न चेतावनी दिन्छौँ ।’
नेपाल पत्रकार महासंघको विधानले जिल्ला शाखाले आफ्ना सदस्यहरुलाई हटाउने कामको अधिकार राख्दैन । त्यस्तो अधिकार महासंघको प्रदेश समितिमा निहित हुने व्यवस्था छ । ‘हाम्रो संगठनले महासंघको प्रदेश नेतृत्वसँग यसबारे सोधखोज गर्दा अनभिज्ञता व्यक्त भएको छ’ विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार महासंघले गर्ने प्रत्येक काममा सबै संगठनहरुसँग छलफल, परामर्श हुने गरेको भएतापनि दोलखामा भइरहेको कामबारे कुनै छलफल, परामर्श र सहमति नै नभएकोले यो कार्य महासंघकै विधान विपरित रहेको संयोजक सुवेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।