
काठमाडाैं, २० वैशाख । मुलुकमा आत्मनिर्भर बन्दै गरेको पोल्ट्री क्षेत्रले लकडाउनका कारण दैनिक न्यूनतम ३५ लाख रुपैयाँ नोक्सानी व्यहोर्दै आएको छ । व्यवसायीले कुखुरा बिक्री हुन छाडेपछि सित्तैमा बाँडेका छन् ।
मोरङको बेलबारी, रुपन्देहीको बुटवल, बाँके, कैलालीको धनगढीलगायत १० भन्दा बढी जिल्लाका किसानले बिक्री नभएका र दाना नपाएपछि चल्लालाई गाडेर नष्ट गरेका छन् । कतिपयले अत्यन्त न्यून मूल्यमा बिक्री गरेर खोर खाली गरेको बताएका छन् ।
ह्याचका अन्डा बिक्री हुन छाडेपछि सातामा ४२ लाख अन्डा र चल्ला नष्ट गरिएको व्यवसायीको भनाइ छ । लकडाउन बढ्दै गए कुखुरा, अन्डा, ह्याचरी, दाना सबै क्षेत्रमा नोक्सानीको दर अझ बढ्ने व्यवसायीको भनाइ छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनका कारण अत्यावश्यक उद्योग तथा सेवा क्षेत्रमा परेको असरबारे गरेको अध्ययनमा पोल्ट्री क्षेत्रले लकडाउनयता (१२ वैशाखसम्म) १० करोड रुपैयाँ क्षति व्यहोरेको उल्लेख छ । पोल्ट्री उद्योग २० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको र लकडाउन लम्बिँदै जाँदा यो क्षेत्रले ठूलो क्षति व्यहोर्ने रिपोर्टमा उल्लेख छ ।
पोल्ट्रीका विभिन्न क्षेत्रमध्ये लेयर्सपालनमा ३० अर्ब लगानी छ । दाना उद्योगमा १ खर्ब २५ अर्ब र ह्याचरीमा १ खर्ब २० अर्ब रुपैयाँ लगानी रहेको व्यवसायी बताउँछन् । लकडाउन बढ्दै गए वा लकडाउनको स्वरूपमा परिवर्तन नगरे यो क्षेत्र माथि उठ्न नसक्ने व्यवसायीको भनाई छ ।
नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार देशभर लेयर्स कुखुरा पाल्ने फार्महरू साना–ठूला गरेर करिब २ हजार ८ सय छन् । लेयर्स कुखुरा अन्डा उत्पादनका लागि पाल्ने गरिन्छ । यस्ता फर्ममा २ सयदेखि २ लाखसम्म लेयर्स पाल्ने किसान छन् ।
तर, समयमा दाना खुवाउन नसकेर किसानहरूले उत्पादन दिने वेलाका कुखुराहरू सित्तैमा वा अति न्यून मूल्यमा बिक्री–वितरण गरिरहेका छन् । यसले अन्डाको उत्पादनसमेत घट्दो छ । विवेक पाेखरेलले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।