लकडाउनमा माडी नगरपालिका

नारायण सापकोटा, माडी । विश्वभर फैलिएको कोरोना भाइरस (covid-19) बाट सुरक्षित हुनको लागि नेपाल सरकारले लगाएको लक डाउनको समयमा राहत वितरण, जनताको सुरक्षा र विकास निर्माणका क्षेत्रमा माडी नगरपालिकाले अनुकरणीय कार्य गर्दै आएको छ । लकडाउनको आज ३८ औं दिन हो ।
कोरोनाको महामारीबाट बच्नको लागि सबै भन्दा महत्वपूर्ण कार्य भने कै चेतना विस्तार हो भन्ने मान्यताले माइकिङ गर्ने, चेतनात्मक रेडियो सन्देशहरु प्रशारण गर्ने, पोष्टर वितरण गर्ने, स्वयम् सेवक परिचालन गर्ने, हेल्थ डेक्स राख्ने जस्ता कार्यहरु गरिएको माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।
लक डाउनका कारण दैनिक ज्यालादारी मजदुर हरुलाई लक्षित गरी राहत वितरण कार्यलाई पनि तीन चरण गरी वितरण गरिएको छ । तेस्रो चरणसम्म करिव २५ सय परिवारलाई राहत सामग्री उपलब्ध गराइएको विपद् राहत व्यवस्थापन समितिका संयोजक भागीरथ बस्यालले जानकारी दिनुभयो । केही स्थानमा समय मै यथार्थ विवरण आउन नसक्दा वितरण कार्यमा केही असहजता भएकोले जनप्रतिनिधि र समाजसेवी हरुको समन्वयमा समाधान गरिएको संयोजक बस्यालले बताउनु भयो ।
माडी नगरपालिकामा राहतको लागि विभिन्न संस्था र व्यक्ति हरुको स्वतःस्फूर्त सहयोग भएकोले राहत उपलब्ध गराउन सहज भएको माडी नगरपालिकाका सूचनाअधिकारी प्रविन भण्डारीले बताउनु भयो । नगद र जिन्सी सहयोग गर्ने हरुको लामै सूची भएकोले एकीकृत गरी सार्वजनिक गर्ने तयारीमा लागिरहेको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । अव भने राहत वितरण कार्यलाई श्रमसँग जोड्ने तयारी भएको छ । काम नपाएर समस्या हुने हरुलाई काम दिने र दैनिक ज्याला स्वरुप रु ७ सय नगद उपलब्ध गराउने तयारी भएको नगर प्रमुख ढकालले जानकारी दिनुभयो ।
माडीमा कोरोना सम्बन्धी चेतना विस्तार र नियन्त्रणको लागि राजनीतिक दल, स्थानीय निकाय र सामाजिक संघ संस्था हरुसँग समन्वय गरी अगाडि बढ्ने काम भएको इलाका प्रशासन कार्यालय माडीका प्रमुख खोबराज सुवेदी बताउनुहुन्छ । अत्यावश्यक कामको लागि सवारी पास उपलब्ध गराइएको र त्यसको दुरुपयोग हुन्छ कि भनेर सुरक्षा निकाय हरुसँग समन्वय गरी निगरानी गर्ने काम पनि गरिएको उहाँको भनाइ रहेको छ । यद्यपिअतिआवश्यक काम भनेर केही दिनको लागि नगरपालिकाबाट पास उपलब्ध गराउने कार्य भएको थियो तर हाल त्यसलाई भने बन्द गरिएको छ ।
लकडाउनको समयमा जुवातास खेल्ने १७ जना, जाँड रक्सी खाएर हो हल्ला गर्ने ४ जनालाई नियन्त्रणमा लिइएको र अवैध ६० लिटर घरेलु मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालयकाप्र हरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिनु भयो । लकडाउनको समयमा पिकनिक जाने, माछा मार्न जाने, फुटबल खेल्ने हरुलाई पनि इलाका प्रहरी कार्यालयबाट सामान्य कारवाही भएको छ । लकडाउन उल्लंघन गर्ने ४ वटा ठुला सवारी साधन र ३० वटा मोटरसाइकललाई पनि कारवाही गरिएको छ । आवश्यकता अनुसार संयुक्त सुरक्षा गस्ती बढाइएको र माइकिन गरी कोरोना सम्बन्धी चेतना विस्तार गर्ने काम गरिएको प्रहरी निरीक्षकले जानकारी दिनुभयो ।
भारतबाट पनि लुकीछिपी माडीमा आउने संभावना भएकोले शसस्त्र प्रहरीका सुरक्षा पोष्ट विस्तार गरिएको शसस्त्र प्रहरी बल छरछरेका प्रहरी नायव निरीक्षक नारायणप्रसाद इटनीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय सुरक्षाकर्मी हरुसँग पनि समन्वय गरी सिमानामा पनि गस्ती गर्ने गरिएको छ । गस्ती गर्ने क्रममा भेटिएका हरुलाई ल्याएर क्वारेन्टिनमा राखिने गरिएको छ ।
विदेशबाट आएका र भारत तिरबाट माडी प्रवेश गर्ने हरुलाई राख्नको लागि माडी क्याम्पसमा १ सय बेडको क्वारेन्टिन तयार गरिएको छ । विशेष गरी विदेशबाट आउने हरुलाई क्वारेन्टिनमा राख्ने गरिएको भने केहीलाई परिवारको सहमतिमा घरमै होम क्वारेन्टिनमा राखी निगरानी गरिदैं आइएको छ । हालसम्म माडीमा १८ जनाले क्वारेन्टिनको अवधि पूरा गरेका छन् भने १ जनाको अवधि बाँकी नै छ । १ सय २१ जनालाई होम क्वारेन्टिनमा राखेर निगरानी गरिएकोमा १ सय १७ जनाको अवधि पुरा भएको र आर.डि.टी. टेष्ट पनि नेगेटिभ आएको छ भने चार जनाअझै निगरानी मै रहेका छन् । माडीमा हालसम्म १ सय ३५ जनाको आर.डि.टी. टेष्ट गरिएमा सबैको नेगेटिभ आएको सूचना अधिकारी प्रविन भण्डारीले जानकारी दिनुभयो ।
माडीलाई शुन्य कोरोना क्षेत्र बनाउन लागि रहेको र त्यसको लागि परीक्षणमा विस्तार गर्ने, माडीका ९ वटै वडामा क्वारेन्टिन सञ्चालन गर्ने तयारी रहेको नगर प्रमुख ढकालले जानकारी दिनुभयो । माडी स्वास्थ्य केन्द्रमा हाल जन शक्तिको पनिअभाव नभएकोले स्वास्थ्य क्षेत्रमा पनिआवश्यकता अनुसार काम गर्न सकिएको तर परीक्षण गर्ने कीटको भने अभाव रहेको नगर प्रमुखको धारणा छ ।
लकडाउनको समयमा पनि सुरक्षाको संवेदलशीलतालाई मध्येनजर गर्दै सामाजिक दुरी कायम राखेर महत्वपूर्ण विकास निर्माणका कार्यहरुलाई पनि अगाडि बढाइएको छ । पर्यटनको लागिआकर्षण स्थल मानिएको सोमेश्वर गढीमा प्रवेश गर्ने मार्गमा साथै विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् भने माडीका सडक मर्मत र कालोपत्रे गर्ने कार्यको पनि शुरुवात गरिएको छ ।अत्यावश्यक सामग्री हरुको ढुवानी गर्ने कार्यलाई पनि सहज बनाइएको छ । जसका कारण कृषकहरुले उत्पादन गरेका सामग्रीहरु बजारसम्म पुर्याने कार्यलाई पनि सहजीकरण गरिएको छ ।
कोरोनाको संक्रमण बाहिरी देशबाट आएका मानिसहरुबाट नै हुने गरेको छ । माडी नगरपालिका भारतको खुल्ला सिमासँग जोडिएले भारतबाट लुकीछिपी आउने हरुबाट अझै सजक हुनुपर्ने आवश्यकता रहेको छ । क्वारेन्टिनको उचित व्यवस्थापन, सिमा तिरको सुरक्षा र पासको दुरुपयोगलाई रोक्ने र अति विपन्न परिवारको लागि विशेब व्यवस्था गर्न सकेमा मात्र माडीमा शुन्य कोरोना बनाउने अभियान सफल बनाउन सकिन्छ । –  nsap513@gmail.com

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको