चितवन । लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई युवा संगठनहरुले भरतपुरमा रक्तदान कार्यक्रम गरेका छन् । अनेरास्ववियू चितवन र राष्ट्रिय युवा संघ चितवनले सोमबार भरतपुर ११ का दुई स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
भरतपुर महानगरपालिका वडा नं. ११ स्थित युनाईटेड टेक्निकल कलेज र कैलाश टोलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ८ महिला सहित ८५ जनाले रक्तदान गरेको अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यले जानकारी दिनुभयो ।
कोरोना भाईरस (कोभिड १९) का कारण देशभर लकडाउन भएपछि रक्तसञ्चारकेन्द्र भरतपुरमा रगतको अभाव हुँदै आएको छ । रगत अभाव भएपछि कार्यक्रम आयोजना गरी रगत संकलन गरिएको आचार्यले बताउनुभयो । सामाजिक दूरी र पर्याप्त स्वास्थ्य सुरक्षालाई ध्यान दिएर कार्यक्रम गरिएको थियो ।
यी दुई संगठनहरुले जिल्लाका विभिन्न स्थानमा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
कार्यक्रममा नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार (इन्द्रजीत), पार्टी सचिव एवं प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेश सभा सदस्य विजय सुवेदी, पार्टी नेताहरु तेजेन्द्र खड्का, रामप्रसाद न्यौपाने, रामचन्द्र अधिकारी लगायतको उपस्थिति थियो ।