
चितवन। चितवनको कालिका नगरपालिकामा राहत वितरणमा अनियमितता भएको छ । नगरपालिकाले निर्णय विपरित आफूखुसी राहत वितरण गरिएपछि अनियमितताको पुष्टि भएको हो ।
नगरपालिकाले सानो परिवारलाई १० केजी चामलसँगै नुन, दाल, तेल दिने र ठूलो परिवारकोलाई २० केजी चामल दिने निर्णय गरेको भएपनि त्यसो नगरी राहात बितरण गरिएको पाईएको छ ।

नगरपालिकाको वडा नम्बर ११ सिद्धिका अधिकांश चेपाङहरुले १० केजी मात्रै चामल पाएका छन् । त्यहाँका चेपाङहरुको परिवारमा ६ देखि माथि १२ जना सम्मको ठूलो परिवार हुन्छ । वडाले २० केजी पाउने भन्दै नामावली संकलन गरेको भएपनि आफुहरुले १० केजी मात्रै चामल पाएको स्थानीयको गुनासो छ ।
यस बिषयमा भने कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले आफुले छानबिन गर्ने बताए । केही दिन अघि राहतको नाममा चेपाङ ठगी शीर्षकमा केही संचारमाध्याममा समाचार प्रकाशन भएपछि त्यस्तो केहि नभएको तर्क दिएका मेयर श्रेष्ठले अहिले भने छानविनका लागि चासो देखाएका छन् ।
वडाका वडाध्यक्ष राजनीतिक दलका प्रतिनिधि तथा टोलका अध्यक्षलाई नगरपालिका बोलाएर स्पष्टीकरण सोधेको र १२ गते सम्मका राहत वितरण गरेकाको नामावाली संकलन गरेर बुझाउन आग्रह गरेको जानकारी श्रेष्ठले दिए ।
वडा नम्बर ११ मा सुरुमा २ सय २० जना राहात पाउन योग्य रहेको भएपनि हाल कतिलाई वितरण गरियो भन्ने कुनै विवरण छैन । यस बिषयमा उक्त वडाका वडाध्यक्ष दामाराम चेपाङले प्रोफाइलमा ३ सय २७ घरधुरी भएपनि यहाँ ४ सय २७ घरधुरी रहेका कारण मिलाएर बाँडेको बताए ।
सुरुमा आफ्नो नाम र नागरिकताको फोटोकपी लगेको भएपनि पछि छिमेकीले पाएको २० केजी चामल बाढेर खान परेको स्थानीय सानु माया चेपाङको गुनासो छ । यसरी नामावली संकलन गर्नु र पछि छिमेकीले पाएको राहत आधा आधा बाँढेर खानु परेको भन्दै यहाँका स्थानीयले पटक पटक गुनासो गरेका थिए । copy by… narayanionline