
चितवन, ०९ बैशाख । चितवनको कालिका नगरपालिकाले राहत वितरणमा अनियमितता गरेको छ । नगरपालिकाले एक खाले निर्णय गरेपनि व्यवहारमा भने अर्र्कै नीति अबलम्वन गरेपछि अनियमितता गरेको पाइएको हो ।
नगरपालिकाले सानोपरिवारलाई १० केजी चामलसँगै नुन दाल तेल दिने र ठूलो परिवारकोलाई २० केजी चामल दिने निर्णय गरेको भएपनि त्यसो नगरी राहात बितरण गरिएको पाईएको छ ।
नगरपालिकाले राहात बितरणमा ४ जनादेखि ठूलो परिवार भएकाहरुलाई २० केजी चामल बितरण गर्ने भनेपनि वडा नम्बर ११ सिद्धिका अधिकांश चेपाङहरुले १० केजी मात्रै चामल पाएका छन् ।
त्यहाँका चेपाङहरुको परिवारमा ६ देखि माथि १२ जना सम्मको ठूलो परिवार हुन्छ । वडाले २० केजी पाउने भन्दै नामावली संकलन गरेको भएपनि आफुहरुले १० केजी मात्रै चामल पाएको स्थानीयको गुनासो छ ।
यता यस बिषयमा भने कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले आफुले छानबिन गर्ने बताउनु भएको छ ।
केही दिन अघि राहतको नाममा चेपाङ ठगी शीर्षकमा समाचार प्रकाशन भएपछि त्यस्तो केहि नभएको तर्क दिएका मेयर श्रेष्ठले यति बेला भने छानविन सुरु गर्न दृढता देखाउनु भएको छ ।
आज वडाका वडाध्यक्ष राजनीतिक दलका प्रतिनिधि तथा टोलका अध्यक्षलाई नगरपालिका बोलाएर स्पष्टीकरण सोधेको र १२ गते सम्मका राहत वितरण गरेकाको नामावाली संकलन गरेर बुझाउन आग्रह गरेको जानकारी पनि उहाँले बताउनु भएको छ ।
वडा नम्बर ११ मा सुरुमा २ सय २० जना राहात पाउन योग्य रहेको भएपनि हाल कतिलाई वितरण गरियो भन्ने कुनै विवरण छैन । यस बिषयमा उक्त वडाका वडाध्यक्ष दामाराम चेपाङले प्रोफाइलमा ३ सय २७ घरधुरी भएपनि ४ सय २७ घरधुरी रहेको र मिलाएर बाँडेको बताउनुभयो ।
सुरुमा आफ्नो नाम र नागरिकताको फोटोकपी लगेको भएपनि पछि छिमेकीले पाएको २० केजी चामल बाढेर खान परेको स्थानीय सानु माया चेपाङको गुनासो छ ।
यसरी नामावली संकलन गर्नु र पछि छिमेकीले पाएको राहत आधा आधा बाँढेर खानु परेको भन्दै यहाँका स्थानीयले पटक पटक गुनासो गरेका थिए ।
सानुमाया चेपाङका अनुसार गाँउमा नामावली संकलन भएको भएपनि सबैलाई दश दश केजी चामल वितरण गरिएको थियो । from.. news24tv.com