चितवनको शक्तिखोरमा युवतीहरुको लागि स्वास्थ्य सचेतना तथा सेनेटरी प्याड वितरण

शिशिर सिंखडा,चितवन,२६ फागुन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ९ शक्तिखोरमा युवतीहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रम तथा निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ । शक्तिखोर, सिद्धि र काउलेका ६० जना युवती तथा महिलाहरुको सहभागिता रहेको कार्यक्रम सामुदायिक सहयोग केन्द्र सौराहाको स्थानीय संयोजन तथा लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरको सहयोगमा सो कार्यक्रम भएको थियो । “महिनावारी र सो समयमा अपनाउनुपर्ने सजगता” को विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।

१सय१०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आयोजित कार्यक्रममा लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरले आफ्नो व्यवसायिक, सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो कार्यक्रममा विशेष सहयोग गरेको थियो ।
कार्यक्रममा संचारिका समूह चितवनकी अध्यक्ष तथा पत्रकार अजिता अधिकारीले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । अध्यक्ष अधिकारीले महिलाहरुको महिनावारी प्राकृतिक प्रक्रिया भएको भन्दै स्वस्थ जीवनयापनको लागि महिलाहरुले “मेरो स्वास्थ्य मेरो अधिकार” लाई विशेष जोड दिनुपर्ने बताउनुभयो । समतामूलक समाज निर्माणमा महिलाहरुले सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा आफ्नो पहिचान बनाउनुपर्ने भन्दै उहाँले आफ्नो कर्तव्य र अधिकार प्रति महिलाहरु सधैँ सजग हुनुपर्ने बताउनुभयो ।


लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरकी संचालक प्रभा बरालले आफू लामो समय वैदेशिक रोजगारीमा देश बाहिर रहनु बाध्यात्मक अवस्था रहेको भन्दै आफूले जानेको सीप र क्षमताको प्रयोग गर्दै महिलाहरु अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफ्नै कर्मभूमिमा आई केही गर्नुपर्छ भन्ने सोचेर एक दशक लामो वैदेशिक रोजगारीलाई छाडेर चितवनमा नै व्यवसाय थालेको बताउनुभयो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आगामी दिनमा पनि विपन्न र पछाडी पारिएका महिलाहरुको लागि विभिन्न सहयोग कार्यक्रम गर्ने समेत उहाँले बताउनुभयो । सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र सौराहाका कार्यालय प्रवन्धक दिपेन्द्र खरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा युवती तथा महिलाहरुलाई निशुल्क सेनेटरी प्याड समेत वितरण गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको