काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसुरी बजाइरहेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सारंगी रेटिरहेका छन् । यो दृश्य कुनै नाटक या फोटो मिलाएर बनाइएको होइन । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको यथार्थ दृश्य हो ।
कलाकारको समूहसँग बसेर नेकपाका तीन नेताहरुले बाँसुरी बजाउने र सारंगी रेट्ने गरेका थिए । यो तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
यो तस्बिरबाट पूर्व नेकपा एमालेका नेताहरुले आफूहरु एक भएको सन्देश पनि दिन खोजेका छन् । पछिल्लो समय ओली कमजोर भएको सन्देश जाँदा उनले वरिष्ठ नेता झलनाथ खनाललाई गत हप्ता बालुवाटारमा बोलाएर एक्ला एक्लै तीन घन्टा कुरा गरेका थिए । अर्का नेता माधवकुमार नेपाललाई पनि साथमा लिएर ओली शक्तिशाली बन्न खोजिरहेका छन् ।
कार्यक्रममा पूर्व नेपालदेखि पश्चिमसम्मका लोक बाजाहरुको संगीत प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुको सहभागिता रहेको थियो । ति रमाइला तस्वीरहरु प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।