काठमाडौँ । १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म २३ स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ यस्तै भारत १२ स्वर्ण, १२ रजत र नौ कास्य गरी कुल ३३ पदकसहित दोस्रो स्थानमा छ ।
श्रीलङ्का पाँच स्वर्ण, १४ रजत र २७ कास्यसहित तेस्रो, पाकिस्तान पाँच स्वर्ण, ११ रजत र नौ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, तीन रजत र २१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण जित्दै छटौँ तथा भुटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ ।
सोमबार १५ स्वर्ण जितेको नेपालले मंगलबार थप आठ स्वर्ण पदक जितेको हो । नेपालले मंगलबार उसु, तेक्वान्दो र करातेमा दुई/दुई तथा एथ्लेटिक्स र ट्रायथलनतर्फ एक/एक स्वर्ण जितेको हो । तेक्वान्दोको ग्यारोगीतर्फ महिला ४६ किलोमुनि तौल समूहमा नेपालकी काजल श्रेष्ठले स्वर्ण पदक जितिन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयद सिद्रा बटुलालाई ५०–१४ अङ्कले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
यस्तै पुरुष ६८ किलोमुनीको तौलसमूहमा नेपालका वीरबहादुर महराले पाकिस्तानका मोहम्मद फाहिमलाई ४१–३६ अङ्कले हराए । यस्तै ५७ किलोमुनिको तौल समूहमा निमा गुरुङले रजत पदक प्राप्त गरिन् । उनी भारतकी कसिका मलिकसँग पराजित भइन् ।
यस्तै उसुमा नेपालले दुई स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा मंगलबार सम्पन्न खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् । थाउलोको चवाङक्वाङमा विजयले ९ दशमलव ४८ अङकसहित स्वर्ण जितेका हुन् ।
उक्त स्पर्धामा बङ्गलादेशले रजत तथा भारतले कास्य पदक जित्यो । यस्तै महिला थाउलोको चवाङक्वाङमा सुस्मिताले श्रीलङ्काका खेलाडीलाई ९ दशमलव ४४ अङ्क जोड्दै स्वर्ण जितेकी हुन् । सो स्पर्धामा बङ्गलादेशले कास्य पदक प्राप्त गर्यो ।
यस्तै करातेको ६७ किलो कुमुतेतर्फ नेपालका नविन रसाइलीले स्वर्ण पदक जितेका छन् । उनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ अङ्कले हराएका हुन् । एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । उनले महिला १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७ दशमलव चार सेकेण्डमा पूरा गरिन् । उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् । एथ्लेटिक्सकै पुरुष एक हजार पाँच सय मिटर दौडमा टङ्क कार्कीले कास्य पदक जिते ।
मंगलबार नै पोखरमा सम्पन्न ट्रायथलनमा नेपालले एक स्वर्ण र दुई रजत पदक पाएको छ । ट्रायथलनअन्तर्गत दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत प्राप्त गरे । महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत पाइन् । यस्तै नेपालले महिला भलिबलमा मंगलबार रजत पदक प्राप्त गर्यो । नेपाल भारतसँग ३–२ सेटमा पराजित भई रजतमै सिमित रहेको हो ।
साग पदक तालिकाः
देश स्वर्ण कास्य रजत जम्मा
नेपाल २३ ९ १२ ४४
भारत १२ १२ ९ ३३
श्रीलङ्का ५ १४ २७ ४६
पाकिस्तान ५ ११ ९ २५
बङ्गलादेश ४ ३ २१ २८
माल्दिभ्स १ ० ० १
भुटान ० ० ३ ३