पसलमा बिक्रीमा राखिएको सामान राम र लक्ष्मणलाई मन परे निः शुल्क प्रदान गर्ने गरिन्छ। नगर दर्शन अवलोकन गर्न जानकी मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो। जानकी मन्दिरको प्राङ्गणमा जनकपुर मिथिलाको विशेषता र मिथिलामा आगन्तुक पाहुनालाई गरिने आदार भावनाका साथ संगीतमय वातावरणमा मिथिलाको पहिचान र संस्कृतिबारे मन्दिर परिसरमा अवगत गराइएको छ। त्रेतायुगमा अयोध्याबाट जनकपुर विवाह गर्न आएको बेला भगवान राम र लक्ष्मणलाई जनकपुरको नगरपरिक्रमा गराइएको विश्वासका साथ हरेक वर्ष विवाहपञ्चमीमा नगरदर्शन कार्यक्रम हुँदै आएको छ।
नगर दर्शनको समापन समारोहमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेशसभा सदस्य परमेश्वर साहलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो। यता विवाह महोत्सव कार्यक्रममा सहभागी हुन अयोध्याबाट हिँडेका जन्ती सीमावर्ती क्षेत्र मधुबनी जिल्लाको बासोपट्टी पुगेको छ। महोत्तरीको मठिहानी हुँदै जन्ती बुधबार जनकपुर पुग्ने कार्यक्रम रहेको छ।
अयोध्याबाट पाँच सयको संख्यामा आएका जन्तीलाई महोत्तरीको मठिहानीका साथै जनकपुर प्रवेश गर्ने नाकामा स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरले जनाएको छ। यसका साथै जनकपुरको बाह्रबिघा मैदानमा आयोजना हुने एक कार्यक्रमका बीच बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जन्तीको स्वागत गर्ने कार्यक्रम तय भएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए।
उत्तराधिकारी महन्त दासले वैवाहिक कार्यक्रममा सहभागी हुन अयोध्याबाट आएका जन्तीलाई मिथिला परम्पराअनुसार ५६ प्रकारको व्यञ्जनले स्वागत गर्ने तयारी छ। विवाहपञ्चमीको सप्ताहव्यापी कार्यक्रम अनुसार बुधवार फूलबारी लीला (विवाह मण्डपको फूलबारीमा), तेस्रो दिन १२ गते बिहीबार धनुषयज्ञ (रंगभूमि), चौथो दिन १३ गते शुक्रबार तिलकोत्सव (जानकी मन्दिर प्राङ्गण), पाँचौ दिन १४ गते शनिबार मटकोर (गंगा सागरपोखरी घाट), छठौं दिन १५ गते आइतबार स्वयम्वर तथा शुभ विवाह र सातौ दिन १६ गते सोमबार राम कलेवा जानकी मन्दिर प्राङ्गणमा गरी अयोध्याबाट आएका जन्तीलाई बिदाई गरी विवाहपञ्चमी समापन हुनेछ।