गैँडाकोट । माथिल्लो भागरस्थित मामाघरमा बस्दै आएका साढे २ वर्षका सिवान तामाङ दुई दिनपछि सकुशल फेला परेका छन्। मंगलबार बिहान हजुरआमा यामकुमारी आले मगर च्याउ खोज्न शंखदेवी सामुदायिक वनतर्फ जाँदा सिवान पनि पछिपछि जंगलतर्फ गएका थिए। त्यसक्रममा बाटो बिराएपछि उनी घनघोर जंगलमा हराएका थिए।
बालक हराएको खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा गाउँलेहरूले संयुक्त रूपमा खोजी अभियान सुरु गरेका थिए। रातदिन नभनी गरिएको निरन्तर खोजीपछि अन्ततः दुई दिनपछि बालकलाई सकुशल फेला पार्न सफलता मिलेको हो।
आमाबुवा रोजगारीका क्रममा भारतमा रहेका कारण सिवान विगत डेढ वर्षदेखि मामाघरमै हुर्कंदै आएका थिए।









