एजेन्सी । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले वाचा पूरा भएमा मात्र संयुक्त राज्य अमेरिकासँगको वार्ता सफल हुने बताएका छन्।
पेजेस्कियानले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका छन्, ‘गरिएका वाचा पूरा र उचित रूपमा कार्यान्वयन भएमा मात्र वार्ता सफल हुनेछ।’
उनले अगाडि लेखेका छन्, ‘अगाडि बढ्ने कुरा पनि तब मात्र थाहा हुनेछ, जब जिम्मेवारीहरू साँच्चै पूरा गरिनेछन्। लिखित सम्झौताबाहिरको छलफलले वार्ता अगाडि बढाउँदैन।’
गत आइतबार स्विट्जरल्यान्डमा अमेरिका र इरानबिच शान्ति वार्ता भएको थियो।
मध्यस्थकर्ता बनेका कतार र पाकिस्तानका अनुसार अमेरिका र इरानबिच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा उच्चस्तरीय वार्ताको पहिलो सत्र सम्पन्न भएको हो।
उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सम्झौताका आधारमा संयुक्त रूपमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरिएको छ। यो समितिले सम्पूर्ण वार्ताको अनुगमन गर्नेछ र सबै कुरा सही दिशामा अगाडि बढिरहेको सुनिश्चित गर्नेछ। वार्ताकारहरूले यस समितिलाई नियमित रूपमा रिपोर्ट गर्नेछन्। साथै आणविक कार्यक्रम, इरानविरुद्धका प्रतिबन्ध, निगरानी र विवाद समाधान गर्ने विधिजस्ता विशिष्ट मुद्दामा काम गर्न छुट्टाछुट्टै टोली गठन गरिनेछ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्तिम सम्झौतामा पुग्न आगामी ६० दिनभित्र एउटा रोडम्याप विकास गर्ने निर्णय गरिएको छ। यस रोडम्यापका आधारमा तुरुन्तै प्राविधिक वार्ता सुरु हुनेछ। सबै पक्षबिच प्रत्यक्ष सञ्चार लाइन स्थापना गरिएको छ। यसको उद्देश्य गलतफहमी वा द्वन्द्वबाट बच्नु र जहाजहरूलाई हर्मुज स्ट्रेटबाट सुरक्षित रूपमा पार गर्न दिनु हो।’
दुई देशले आफ्नो संयुक्त विज्ञप्तिमा सबै देश मिलेर ‘डि-कन्फ्लिक्सन’ सेल गठन गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
यसमा लेबनान समावेश हुनेछ र यो कतार र पाकिस्तानजस्ता मध्यस्थता गर्ने देशहरूद्वारा सञ्चालन हुनेछ। यसको काम लेबनानमा युद्ध बन्द गर्ने सम्झौतालाई उचित रूपमा कार्यान्वयन गरिएको सुनिश्चित गर्नु हुनेछ।









