चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरेको छ।
यसअघि चितवनको टाँडीस्थित स्टार बैंक्वेट होटल र नजिकैको चौरमा टेन्ट व्यवस्थापन गरेर खुला तथा बन्द सत्र सञ्चालन गर्ने तयारी गरिएको थियो। तर, चितवनमा बढ्दो गर्मीलाई मध्यनजर गर्दै महाधिवेशन स्थल परिवर्तन गरिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
टाँडीको व्यवस्थापनले अत्यधिक गर्मीका कारण सहभागीलाई असहज हुन सक्ने सुझाव दिएपछि जिल्ला पदाधिकारीहरूले सभापति रवि लामिछानेलाई वैकल्पिक स्थल छनोट गर्न आग्रह गरेका थिए। उनीहरूले भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रलाई उपयुक्त विकल्पका रूपमा प्रस्ताव गरेका थिए। सोही सुझावका आधारमा सभापति लामिछानेले वातावरण, व्यवस्थापन र सुविधालाई ध्यानमा राख्दै चितवन प्रदर्शनी केन्द्रलाई महाधिवेशन स्थलका रूपमा तय गरेका हुन्।
रास्वपा चितवनका सभापति मिनि माधव खनालका अनुसार महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्टहाउस चौरमा हुनेछ भने बन्द सत्र टेलिकम कार्यालय, कभर्ड हल र जिल्ला प्रहरी कार्यालय नजिक रहेको चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ।
प्रदर्शनी केन्द्रमा रहेका तीनवटा हलमध्ये एउटा हलमा बन्द सत्र सञ्चालन गरिनेछ, जहाँ करिब ३,५०० जना अटाउन सक्ने क्षमता छ। अर्को हलमा भोजन व्यवस्थापन गरिनेछ भने तेस्रो हल प्रतिनिधिहरूको विश्रामका लागि प्रयोग गरिनेछ।
प्रदर्शनी केन्द्रमा एयर कन्डिसन (एसी) सहितको पर्याप्त सुविधा, प्रशस्त पार्किङ स्थल तथा सवारी व्यवस्थापन र सुरक्षाको दृष्टिले पनि अनुकूल वातावरण रहेको रास्वपाले जनाएको छ।









