हङकङका युवा व्यवसायी बन्जाराद्वारा छोरीको जन्मदिनको अबसरमा चितवनका १० जनालाई ह्वीलचियर सहयोग प्रदान

चितवन । रत्ननगर नगरपालिकामा शारीरिकरूपमा अशक्त भएका १० जनालाई ह्वीलचियर वितरण गरिएको छ । सोमबार नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, महिला विकास अधिकृत दीपा घिमिरेलगायतले ह्वीलचियर वितरण गरेका हुन् ।

ह्वीलचियर प्राप्त गर्नेहरुमा रत्ननगर–१२ का कृष्णप्रसाद पौडेल, लक्ष्मीदेवी घिमिरे, रत्ननगर–१३ का उजेलीकुमारी गिरी, रत्ननगर–१४ का नेत्रमान श्रेष्ठ, खुन्तबहादुर अधिकारी, कृष्ण सार्की, राजेश पुडासैनी, योगा थापा, रत्ननगर–१५ का लेखकुमारी सिंखडा र रत्ननगर–१६ का बाबुराम घिमिरे रहेका छन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले नगरपालिकाले विपन्न, असहाय, अपाङ्गता भएकालाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको बताउँदै यस्ता व्यक्तिहरुका लागि नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा वितरीत ह्वीलचियरहरु नेचुरल साउण्ड हेलिङ इन्टरनेसनल स्कुलका निर्देशक आकाश बन्जाराले आफ्नी छोरी आन्वी बन्जाराको जन्मदिनको अवसरमा शारीरिकरूपमा चुनौतीपूर्ण व्यक्तिहरुका लागि वितरण गर्ने घोषणाअनुरुप नगरपालिकालाई उपलब्ध गराएका हुन् ।

हङकङमा व्यवसाय गर्दै आएका युवा व्यवसायी बन्जाराले विदेशमा रहेर पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर मानवता, सेवा र सद्भावको सन्देश प्रवाहित गर्दै आएका छन् । उनले विगतदेखि नै बाढीपहिरो, विपद्, रोग तथा विपन्नताबाट प्रभावित परिवार, अनाथ बालबालिका, गम्भीर रोगका बिरामी तथा असहाय व्यक्तिहरुलाई सहाराको भूमिका निर्वाह गर्दै आएका छन् ।

उनले गोरखा, काठमाडौँ र चितवनमा नौ जना असहाय विद्यार्थीलाई सहारा बनेर अध्ययन गराउँदै आएका छन् । अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ हङकङका संस्थापक अध्यक्ष तथा ग्लोबल गोरखा समाजका केन्द्रीय उपाध्यक्ष रहेका उनले नेपालमै १५० बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको