काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ। पार्टीले शुक्रवार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिए।
उनले भने, ‘नेकपा एमालेको ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग ९० प्रतिशत सकिएको छ। नेकपा एमालेका लागि यो ठाउँ नै उपयुक्त हुन्छ भनेर हामीले यो ठाउँ रोजेका हौँ। साउण्ड सिस्टमदेखि अन्य सबै व्यवस्थापनको तयारी अन्तिम तयारीमा रहेको छ।’
पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागि हुने विश्वास गरिएको बताए।
पार्टीको महाधिवेशनसँगै प्रतिशोधविरुद्ध तथा संविधान र व्यवस्था रक्षाको महाअभियानसमेत शुरु हुन गइरहेको बताए।
उनले महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिए पनि शुभकामना पठाउन आग्रह गरिएको बताए। त्यसबाहेक विभिन्न १६ दलका नेताहरुलाई उद्घानटन सत्रमा सहभागी हुने उनको भनाइ छ।
पार्टीको विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले महाधिवेशन पूर्णतः नेतृत्व चयनमा केन्द्रित हुनेछ।
पार्टी अध्यक्षमा केपी शर्मा ओली नै तेह¥याउने तयारीमा छ। अध्यक्ष पदका लागि उनीसँग पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धा गर्दै छन्।










