गोरखा । गण्डकी गाउँपालिका–७ को आयोजनामा ४ दिने अगुवा किसान अध्ययन–अवलोकन भ्रमण कार्यक्रम (मंसिर १० देखि १३ गते) सफलतापुर्बक सम्पन्न भएको छ। किसान तथा कर्मचारी गरी ९८ जना सहभागी रहेको भ्रमण टोलीको नेतृत्व वडा अध्यक्ष तुलसी रेग्मीले गरेका थिए।

भ्रमण टोलीले स्याङ्जा, गुल्मी, अर्घाखाँची र रुपन्देही जिल्लाभित्रका विभिन्न कृषि, सामाजिक तथा धार्मिक स्थलहरूको अध्ययन–अवलोकन गरेको थियो। कार्यक्रम अन्तर्गत सहभागीहरूले स्याङ्जाको सिरुबारी होमस्टे, गुल्मीको रुरु धाम, अर्घाखाँचीको अर्घा मन्दिर, सुपादेउराली मन्दिर तथा रुपन्देहीको अस्टिज फर्म लगायत स्थानहरूको निरीक्षण गरेका थिए।


सोही क्रममा टोलीले जिमुहाँ शित भण्डार सहकारी संस्था लिमिटेड, गल्याङ नगरपालिका–११, स्याङ्जाको समेत अवलोकन गरेको थियो। सहकारीका प्राविधिक टोलीबाट सहभागी किसानहरूले आलुको बीउ उत्पादन, उन्नत आलु खेती गर्ने तरिका, रोग व्यवस्थापन, मल–माटो व्यवस्थापन, भण्डारण प्रक्रिया तथा बजार प्रणालीबारे प्राविधिक जानकारी प्राप्त गरेका थिए।




वडा कार्यलयले आर्थिक वर्ष २०८२-८३ को बजेटमा समावेश गरेर किसानलाई भ्रमण लगिएको वडा सचिव पुष्पा बस्नेतले बताइन् । उनका अनुसार, ४ दिने अध्ययन–अवलोकन कार्यक्रमले किसानहरूको सीप, ज्ञान, प्रविधि पहिचान तथा व्यावसायिक कृषि पद्धतिप्रति अभिरुचि बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताइन् ।









