आजदेखि मुग्लिन-पोखरा सडकखण्ड ४ घण्टा बन्द हुने

काठमाडौं । मुग्लिन–पोखरा राजमार्ग भएर पोखरा आउने र पोखराबाट सोही मार्ग हुँदै बाहिरिने सडक खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ।

मुग्लिन–पोखरा राजमार्ग अन्तर्गत सुधार योजना अन्तर्गतको पश्चिम खण्डमा १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो। सासेक मुग्लिन पोखरा राजमार्ग सुधार चरण एक योजना अन्तर्गत मङ्सिर २ गतेदेखि ११ गतेसम्म दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र मध्याह्न १२ बजेदेखि दुई बजेसम्म पूर्ण तथा आवश्यकताका आधारमा आंशिक रूपमा सडक बन्द हुने छ।

योजना प्रमुख कृष्ण बहादुर कुँवरका अनुसार मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ। पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस’ प्रविधिको पुल निर्माणको लागि काम भइरहेको छ। विजयपुरमा रहेको नेपाली सेनाको ब्यारेक अगाडि निर्माणाधीन पुलमा ‘लन्चिङ’ गर्ने प्रयोजनको लागि निर्माण व्यवसायी तथा परामर्शदाताबाट ‘ट्राफिक’ व्यवस्थापनको अनुरोध भएपछि सडक बन्द गर्नुपरेको योजना प्रमुख कुँवरले बताए।

पुल निर्माणको लागि १५ ओटा ‘गर्डर कास्टिङ’ भइसकेको र उक्त ‘गर्डर’हरूलाई निर्माणाधीन पुलमा राख्ने क्रममा अति संवेदनशील अवस्था आउने उनको भनाइ छ। संवेदनशील काम भएकोले रातको समयमा सुरक्षा संवेदनशीलता झनै बढ्ने भएकोले दिनको समयमा नै काम गर्नुपर्ने बाध्यताले सडक बन्द गर्नुपरेको हो। पोखरादेखि विजयपुर हुँदै ताल चोक जाने र सोही ‘रुट’ हुँदै आउने सवारीहरूलाई रोक्न लागिएको छ। तर अवस्था हेरेर प्रत्येक आधा घण्टामा ‘लाइन’ लागेको ‘ट्राफिक’लाई खुलाउँदै लैजान सकिने सडक योजनाले बताएको छ।

बाटो बन्द रहने समयमा वैकल्पिक बाटाको रूपमा दुई पाङ्ग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढी बजार चोकबाट बेल चौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै जाने बाटो प्रयोग गर्न सक्नेछन्। ठुला सवारीसाधनको लागि पावर हाउस चोकदेखि बौमारा हुँदै बिरौटा निस्किएर पोखरा छिर्न सजिलो हुने छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको