काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री (शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल), दुई पूर्वमन्त्री (आरजु राणा देउवा र दीपक खड्का) तथा देउवाका छोरा जयवीरसिंहको सम्पत्तिको अनुसन्धान थालेको छ। सार्वजनिक पदको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको आशंकामा उनीहरूका नाममा रहेको चल–अचल सम्पत्तिको विवरण संकलन गर्न सम्बन्धित निकायहरूलाई पत्राचार गरिएको छ।
राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार तथा मालपोत कार्यालयहरूबाट खाता, लगानी, कम्पनी, जग्गा र नगदको विवरण मागिएको छ। साथै, २४ भदौमा भएका आगजनी घटनापछि जलेका नोटका टुक्राको फरेन्सिक रिपोर्ट पनि प्रहरीले माग गरेको छ।
जेन–जी विद्रोहको जगमा बनेको अन्तरिम सरकारले चौतर्फी दबाब पछि उनीहरूमाथि अनुसन्धान अघि बढाएको हो । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला २०७४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अन्तरिम सरकारले अर्थ मन्त्रालयमा फिर्ता गरिसकेको छ ।









