काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न सबैलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले समाजमा जात र थरको आधारमा विभाजन होइन, समभाव र समानताको भावना विकास गर्नुपर्नेमा जोड दिएका छन्। “आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्,” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्, “नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्छ। मानवता भन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ।”
उनले जन्मले होइन, कर्म, विचार र योगदानका आधारमा व्यक्तिको मूल्याङ्कन गरिनुपर्ने आवश्यकता औंल्याए। “हामीले बनाउने समाज समान अवसर, सम्मान र सहभागितामा आधारित हुनुपर्छ,” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ।
प्रधानमन्त्री ओलीले जातीय छुवाछूतजस्तो सामाजिक कुरीतिलाई अन्त्य गर्न कानुनी, नीतिगत र व्यवहारिक रूपमा अझ प्रभावकारी पहल आवश्यक रहेको बताए।
उहाँले सबै नेपालीलाई जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिंदै, सामाजिक न्याय र समावेशी विकासका लक्ष्यतर्फ एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।









