अनेरास्ववियुमा उमेरहदको निर्णयप्रति महासचिव रोकायाको आपत्ति, “निर्णय तत्काल सच्चिने विश्वास”

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का महासचिव नरेश रोकायाले संगठनमा लागु गरिएको उमेरहदको निर्णयप्रति आपत्ति जनाएका छन्।

रोकायाले आज साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त निर्णय पार्टीको आधारभूत सञ्चालन सिद्धान्तको विपरीत भएको टिप्पणी गरेका हुन्।

> “खेल सुरु भइसकेपछि जसरी खेलको नियम परिवर्तन हुँदैन, त्यसैगरी महाधिवेशनको तयारी भइसकेपछि यस्तो निर्णय गर्नु म्याच फिक्सिङ जस्तै हो,” उनले लेखेका छन्।

उनका अनुसार जेठ ११ गते बसेको एमाले केन्द्रीय सचिवालयको बैठकमा समसामयिक राजनीतिक परिस्थिति मात्र एजेन्डा भए पनि, उमेरहद लगाउने निर्णय भएको थियो, जुन प्रक्रिया र नीतिविपरीत भएको स्पष्ट छ।

“हाम्रो पार्टी संसारकै सर्वश्रेष्ठ लोकतान्त्रिक कम्युनिस्ट पार्टी हो,” रोकायाले लेख्दै भनेका छन्, “तर यस्तो निर्णय जनवादी केन्द्रीयताको मर्मविपरीत छ।”

रोकायाले विश्वास व्यक्त गरेका छन् कि पार्टीले उक्त निर्णयमा पुनर्विचार गरी तत्काल सच्याउनेछ। उनले संगठनको आन्तरिक जीवन, संरचना र वैधानिक प्रक्रिया उल्लेख गर्दै भनेका छन्, “विधान र नीति अनुसार मात्रै सुधार सम्भव छ, अन्यथा विद्यार्थी आन्दोलनको घाँटी रेटिने खतरा छ।”

रोकायाले शुभेच्छुक र कार्यकर्ताहरुलाई सान्त र धैर्य रहन अपिलसमेत गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको