चितवन । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले पनि विभिन्न कार्यक्रम गर्दै छ । चितवनमा प्रेस स्वतन्त्रता पक्षधरहरुको हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको छ ।
युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
राष्ट्रसंघको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्त्वपूर्ण दिनका रूपमा लिन्छन् । आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वबारे चर्चा गरिँदै छ । वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षपातीको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रस्ट रूपमा उभ्याएको थियो ।
यो वर्षका लागि युनेस्कोले ‘साहसी नयाँ संसारमा रिपोर्टिङ–प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारा तय गरेको छ ।
अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्नसक्छ । प्रविधिको नयाँ युगमा प्रेस स्वतन्त्रता र मिडियामा एआईले पार्न सक्ने प्रभावबारे सूसुचित गर्नुपर्ने यो वर्षको युनेस्कोले तय गरेको नाराले अपिल गरेको छ ।









