लहान । छठ पर्वमा प्रसादको रुपमा छठ देउतालाई चढाइने केरा गत वर्षको तुलनामा दोब्बर मूल्य बृद्धि भएको छ । दिपावली सकेलगत्तै छठ पर्वको तयारीमा जुटेका भक्तजनहरु छठ पर्वमा पाकेको केरा प्रसादको रुपमा चढाउन लहान बजारमा केरा खरिद गर्दैगर्दा गत वर्षको तुलनामा दोब्बर मूल्यमा केरा खरिद गर्नुपरेको बताएका छन् ।
लहान–१ की सुनिता गुप्ता भन्नुहुन्छ, ‘यत्रो महँगो केरा कहिले पनि किनेको थिएन । पाँचसयमा पाउने केराको घारी यस वर्ष एक हजार तिर्नुपरेको छ । किन यत्रो महँगो भयो ?” सुनिता गुप्तासँग केरा खरिद गर्ने अन्य भक्तजनहरुको पनि यस्तै गुनासो गरेका छन् ।
केरा व्यापारी श्रीप्रसाद गुप्ताका अनुसार मँहगोमा खरिद गरेपछि महँगोमा बेच्नुपरेको छ । पहाडी जिल्ला र कोसी प्रदेशको मोरङ, धनकुटा सुनसरी जिल्लाबाट आउने केरा यसवर्ष केरा खरिद गर्न ती जिल्ला पुग्दा महँगोमा खरिद गर्नुपरेको छ । महँगोमा खरिद गरेर ल्याएको केरा महँगोमा नै बेच्नुपर्ने बाध्यता छ ।
यस वर्ष एक महिनाअघि आएको वर्षा र वाढीका कारण छठको समयमा पाक्नुपर्ने केरा एक महिना अगाडि नै पाकेपछि छठमा मागअनुसारको केरा आउन नसकेकाले केरा महँगो भएको अर्का व्यापारी फेकु यादवको भनाइ छ । दुई दिन अघि भारतीय बजारबाट आएको केराले बजारमा केरा देखिन थालेको छ । एक हजार पाँचसय मूल्य रहेको केरा एक हजारमा पाउन थालेको उहाँले बताउनुभयो ।
तरकारी र केरामा परनिर्भरता रहेको कारण यस्तो समस्या देखिदै आएको वातावरणविद् दिनेश यादयको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘सिरहाको लहान, धनगडीमाई, गोलबजार मिर्चैया र कर्जन्हा नगरपालिकाको उत्तरी भेगमा केराको खेती हुने माटो र हावापनी अनुकूल छ ।
ऐलानी र नदीको किनारमा सामूहिक केराखेती गरेर मधेश प्रदेशको मात्र होइन, अन्य प्रदेशमा समेत केरा पुगाउन सक्ने क्षमता हुँदाहुँदै पनि पाँचसयमा पाउनु पर्ने केरा एक हजारभन्दा बढी तिरेर किन्नु परेको छ । केरा खेतितर्फ कुनै पनि पालिकाको ध्यान गएको छैन् ।’
छठ पर्वमा चाहिने तेल, खुर्सानी, चिनीलगायतका मूल्यमा पनि भारतीय बजार र नेपालका बजामा देखिएको ठूलो फरकको कारणले भारतीय बजारमा नेपालीहरुले घरायसी समानहरु ख्रिद गर्न जाँदा नेपालतर्फको बजार सु्नसान हुनेगरेका छन् । भारतीय सीमापारीका बजार लौकहा, खुटौना लदनिया र जयनगरमा करोडौको कारोबार भएको प्रदेशसभा सदस्य ललितादेवी दासले बताउनुभयो ।