म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाका फिरोज लालचनले सञ्चालन गरेको माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट साढे आठ लाखसहित १२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार प्रहरीले तिहारको दिन बेलुका नगद आठ लाख ५२ हजार आठ सय रुपियाँ नगदसहित १२ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले फिरोज लालचनले सञ्चालन गरेको होटल माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट सुरज लालचनसहित १२ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने ५० वर्षीय सुरज लालचन, ५६ वर्षीय राजु लालचन, ५० वर्षीय जेम्स हिराचन, ५३ वर्षीय गुन्ज हिराचन, ६० वर्षीय दलबहादुर हिराचन, ५० वर्षीय विश्व लालचन रहेका छन् ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका वडा ९ स्थायी घर भई मुस्ताङको घरपझोङ गाउँपालिका वडा २ बस्ने ५० वर्षीय आइत ज्वारचन, घरपझोङ गाउँपालिका वडा २ मार्फाका ३८ वर्षीय समीर ज्वारचन, ५० वर्षीय कविन ज्वारचन, ६५ वर्षीय यामप्रसाद मगर, ४० वर्षीय सन्तोष लालचन र कास्की पोखरा महानगरपालिका वडा ९ घर भई मुस्ताङको घरपझोङ गाउँपालिका वडा २ का ६० वर्षीय कमल हिराचन छन् ।
प्रहरी निरीक्षक सुवेदीले पक्राउ परेका १२ जनाबाट ८ बुक तासका साथै नगद आठ लाख ५२ हजार आठ सय रुपियाँ बरामद गरिएको जानकारी दिनुभयो ।