काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायतका प्रतिपक्षी दलका नेताहरूको बैठकले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने सहमति गरेको छ ।
संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको प्रतिपक्षी दलहरूको बैठकले बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिनुभयो ।
नेता बस्नेतले सरकार उदासिन देखिएको, जनताप्रति जबाफदेही नभएको र जनताका समस्या सम्बोधन गर्न ध्यान नदिएको भन्दै ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने विषयमा छलफल र समझदारी भएको बताउनुभयो ।
जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भएको जानकारी दिनुभयो । बैठकमा सरकारले पार्टीगत र निहित स्वार्थलाई प्राथमिकता राखेको महसुस र समीक्षा भएको बस्नेतको भनाइ छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतको उपस्थिति रहेको थियो ।









