
चितवन । चितवनको कालिका नगरपालिकाले शुक्रबार पर्यटन विकास, सम्भावना र चुनौतीका विषयमा सरोकारवाला प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको छ। उद्योगी तथा सौराहाका पर्यटन व्यवसायीहरुलाई समेत सहभागी गराएर नगरपालिकाले समग्र कालिकाको पर्यटन विकासमा विषयमा छलफल तथा सुझाव लिएको हो।
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले पर्यटकीय सम्भावना बोकेको र अर्गानिक पर्यटन क्षेत्र कालिकामा पर्यटन विकास कसरी गर्न सकिन्छ भनेर आज अन्तरक्रिया गरिएको बताउनुभयो । उहाँले आवश्यकताका आधारमा पर्यटन पूर्वाधार निर्माण गरिरहेको जानकारी दिँदै नगरपालिकाले अझै नयाँ पर्यटकीय गन्तव्यको खोजी गरिरहेको जानकारी दिनुभयो ।
कालिकामा युद्ध संग्राहालको रुपमा विकास गर्न समेत तयारी गरिरहेको बताउँदै उहाँले त्यस विषयमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत एक चरणको छलफल गरिसकेको जानकारी दिनुभयो । उहाँले कालिका पर्यटन क्षेत्रमा अब्बल रहेकाले लागनी गर्न पर्यटन व्यावसायी तथा उद्योगीसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले पर्यटन विकासका लागि कालिकाले नयाँ कार्यक्रम ल्याउनुपर्ने सुझाव दिँदै सौराहाको साथ रहने विश्वास दिलाउनुभयो । उहाँले सौराहा आसपासका क्षेत्रमा हात्ती जीप सफारी चले जस्तै कालिकामा नाइट सफारी उपयुक्त हुनसक्ने सुझाव दिनुभयो ।
रत्ननगर पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भेषराज दुवाडीले कयर खोला तटबन्ध, शक्तिखोर औद्योगिक पार्क निर्माण गर्न तथा पालिका र पर्यटन व्यवसायीसँग हातेमालो गर्न सुझाव दिनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले पर्यटन विकासका लागि दीर्घकालीन योजना ल्याउन सुझाव दिनुभयो । चित्राम, सिन्ती झरनालाई थप प्रवद्र्धन गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
कालिका नगरपालिका उपप्रमुख विमला तमाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो ।
रेवान सौराहाका अध्यक्ष धुव्र गिरी, क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष गंगा गिरीलगायतले कालिकाको पर्यटन विकासमा हातेमालो गर्न तयार रहेको बताउनु भएको थियो ।