श्रीमती र छोरालाई भेट्न जाँदै थिए, झ्याप्लेखोला पहिराेमा अस्ताए चितवनका सुमन

चितवन । चितवनको रत्ननगर नगरपालिका–१२ जमुनापुरका ३५ वर्षीय सुमन बजगाई काठमाडौँ जान भनि शुक्रबार दिउँसो नारायणगढबाट माइक्रोबस चढे। श्रीमती र डेढ वर्षीय छोरालाई भेट्न उनी काठमाडौँ जाँदै थिए । बेलायत जानका लागि उनकी श्रीमती डिनिशा काठमाडौँ बसेर तयारी गरिहेकी थिइन् । डिनिशाले परीक्षा दिनुपर्ने भएपछि छोरो हेर्नका लागि सुमन काठमाडौँ जान लागेका थिए ।

डिनिशाको परीक्षा सकिएपछि सँगै फर्किने तयारीका साथ काठमाडौँ जाँदै गरेका सुमन धादिङको झ्याप्ले खोला कट्न पाएनन् । झ्याप्ले खोलाको पहिरोमा उनी चढेको बा ३ ख १३४५ नम्बरको माइक्रो बस सहित चार वटा गाडी पुरिए । सुमन त्यहि पहिरोमा पुरिएर अस्ताए । चार वटा बसबाट ३५ जनाको शव निकालिएको छ ।

सुमनका काका कृष्ण बजगाईंका अनुसार बाटोमा छँदा सुमन र डिनिशाको कुराकानी भइरहेको थियो । ‘पानीका कारण मुग्लिनको बाटोमा ठाउँ–ठाउँमा पहिरो खसेको कारण काठमाडौँ पुग्न धेरै बेर लाग्यो। जाममा परेको छु भनेर बुहारीसँग कुरा भएको थियो रे। त्यसपछि फोन, खबर खाबर केही भएन । पहिरोमा परेर यस्तो अवस्था भइसकेको रहेछ।’

सुमन र डिलिशाको ५ वर्षअघि विवाह भएको थियो। सुमनले रत्ननगरमा पोल्ट्रि व्यवसाय गर्दै आएका थिए । अरु समयमा प्रायः मोटरसाइकलमै यात्रा गर्ने सुमनले त्यो दिन बाटो खराब छ भन्दै माइक्रोमा काठमाडौँ निस्किएका थिए।

सुमनका ६५ वर्षका बुवा हरि बजगाई र ६१ वर्षकी आमा चन्द्रामाया बजगाईं रहेका छन् । सुमनको शव पोष्टमार्टमका लाथि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार झ्याप्लेखोला पहिराेमा परेकाे चितवनबाट काठमाडाैँ जाँदै गरेकाे माइक्राेमा सवार अन्य यात्रुकाे पहिचान अहिलेसम्म खुलेकाे छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको