चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको उल्लेख गर्नुहुँदै यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व भएको बताउनुभएको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औँ वार्षिकोत्सव तथा २० औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
“स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको विदितै छ । यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो”, राष्ट्रपति पौडेलले भन्नुभयो, “दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवम् प्रभावकारी नवीनतम प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्नेतर्फ सरकार र नीजि क्षेत्रले ध्यान दिने मैले विश्वास लिएको छु ।”
उहाँले स्वास्थ्यसम्बन्धी पूर्वाधार र प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र (हब) का रुपमा विकास हुनु लागेकोमा खुसी व्यक्त गर्दै यसबाट उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
“क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न तथा अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विशेष ध्यान पु¥याउनु आग्रह गर्दछु ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफू क्यान्सर रोगबाट ग्रसित भई विदेशमा गएर उपचार गर्नुपरेकाले नेपालीहरूले नेपालमा नै यससम्बन्धी रोगको उपचार गर्ने सुविधा सम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गर्नुभएको स्मरण गर्दै २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रुपमा यो अस्पताल निर्माण भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले राष्ट्रियस्तरको यो अस्पताल हाल क्यान्सरका बिरामीको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणमा अगाडि बढेको जानकारी पाउँदा मलाई खुशी व्यक्त गर्दै क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याई बिरामीको उपचारमा विशिष्टता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिनुभयो । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेश प्रमुख दीपक देवकोटा, उर्जामन्त्री दिपक खड्काको उपस्थिति रहेको थियो ।