चितवन । दोस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिता आगामी असोज ३ गतेदेखि संचालन हुने भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा आगामी असोज ३ देखि १२ गतेसम्म नेपाल प्रहरी शिक्षालयको खेल मैदानमा दोस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिता संचालन हुन लागेको हो ।
प्रतियोगिताको बारेमा आयोजकले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको थियो । प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।जसमा ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरुसहित मोफसका चर्चित टोलीको सहभागीता रहने छ । प्रतियोगिताका संयोजक ध्रुव भुषालका अनुसार चितवन जिल्ला कै सर्वाधिक धन राशि रहेको यस प्रतियोगितामा प्रथम हुने टिमले नगद ६ लाखसहित ट्रफी, मेडल र प्रमाण पाउँने छ्न भने द्वितीय हुने टिमले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउँने छ्न ।प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको भुषालले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ५५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।भरतपुर महानगरपालिका प्रतियोगिताको प्रवर्द्धक र चितवन जिल्ला फुटबल संघ संरक्षक रहेका छ्न । प्रतियोगितामा ४० हजार दर्शकले मैदानमा नै उपस्थित भई खेल हेर्ने आयोजकले अनुमान गरेको छ । दर्शकका लागि खेल हेर्न पहिलो चरणमा रु ५०, क्वाटर, सेमिफाइनलमा रु १०० र फाइनलमा रु २०० को टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले दोस्रो चितवन गोल्डकपको माध्यमबाट खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । उनका अनुसार भरतपुर भ्रमण वर्ष २०२४ घुमौं भरतपुरलाई पनि यो प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा बल पुर्याउने छ ।