महको बिक्री वितरण  सहज बनाईदिन कालिकाका मेयर रेग्मीद्वारा मन्त्री अधिकारीको ध्यानाकर्षण

चितवन । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले महको बिक्री वितरण सहज बनाईदिन  कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीको ध्यानाकर्षण गर्नुभएको छ । आज कालिका नगरपालिकाको समन्वयमा मन्त्रालयमा मन्त्री अधिकारीसंग महको बिक्री वितरणको बारेमा छलफल भएको थियो ।

कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले कृषिमन्त्री अधिकारीलाई समग्र राष्ट्रिय मौरीपालक किसानको समस्या, चितवनको कालिकामा रहेका मौरीपालक किसानद्वारा उत्पादित महको बजारीकरण समस्या आफूले प्रत्यक्ष देखेकोे हुनाले कृषिमन्त्री अधिकारीलाई नेपालमा उत्पादित महलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । कालिकामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन मन्त्री अधिकारीसमक्ष मेयर रेग्मीले अनुरोध गर्नुभयो ।

“किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा सोचेभन्दा उत्पादन बढाउन सकेका छैनन् । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, मेयर रेग्मीले भन्नुभयो, “उत्पादित महले बजार नपाउँदा किसान निराश हुनुपर्ने अवस्था सृजना हुँदै गएको छ ।”

नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । चितवनको कालिका नगरपालिकासहित जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले महको बजारीकरणका लागि विशेष योजना बनाउन कृषिमन्त्री अधिकारीलाई अनुरोध गर्नुभयो ।

 

छलफलमा माैरीपालक किसान महासंघ, सहकारी केन्द्रीय संघ, डाबर नेपाललगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । छ्लफलपछि कालिका नगरपालिकाका मेयर रेग्मीले किसानहरुको स्टग रहेको महको व्यवस्थापन हुने कुरामा आशावादी भएको बताउँनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको