गोरखा । गण्डकी गाउँपालिकामा तरकारीमा विषादी प्रयोगको अवस्था बुझ्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले काम सुरू गरेको छ । गाउँपालिकाभित्र व्यवसायिक कृषि गरिरहेका कृषकहरुमा प्राणघातक क्यान्सर रोग देखिएको भनि प्रमुख सञ्चार माध्यमहरुमा समाचार आए लगतै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आकस्मिक बैठक बसेर पाँच (५) सदस्यीय कार्यदल गठन गरिएको थियो । सो कार्यदलले बुधबार तरकारी खेतीमा विषादी प्रयोगको अवस्था बुझ्न प्रभावित भनिएको स्थानमै पुगेर निरिक्षण तथा अनुगमनको काम सुरु गरेको हो।
प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाको नेतृत्वमा तथा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत, कृषि शाखा, स्वास्थ्य शाखा एव गोरखा कृषि ज्ञान केन्द्र प्रमुख मिरा चाैधरीको सहभागितामा वृहत निरिक्षण तथा अनुगमनको काम गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले जानकारी दिए ।
अनुगमनको क्रममा गाउँपालिका भित्रका कृषकहरुले विषादी खरिद गर्ने एग्रोभेटहरु, तरकारी संकलन केन्द्र एवं खानेपानीका मुहानहरुको समेत नमुना संकलन गरी आवश्यक तथ्यांक तथा जानकारीहरु संकलन गरिएको उपरकोटीले बताए । निकट भविष्यमै विषादी व्यवस्थापन केन्द्र तथा गाउँपालिकाको समन्वयमा विषादीको प्रयोग र यसले स्वास्थ्यमा पारेको असरको बारेमा कृषि विज्ञ सहितको अध्ययन तयार गरी तथ्यपरक निष्कर्ष निकाल्ने योजना रहेको गाउँपालीकाले जानकारी दिएको छ ।