चितवन । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको भरतपुर सबस्टेशनमा कार्यरत एक कर्मचारीमाथि ज्यान मार्ने उद्धेश्यले आक्रमण गरिएको छ । सबस्टेशनमा कार्यरत इलेक्ट्रिसियन फोरमेन पोषण खड्कामाथि मंगलवार बिहान सोहि सबस्टेशनमा कार्यरत इलेक्ट्रिसियन सुपरभाइजर मनिष पुरीले ज्यान लिनेगरी रड, स्टिलको गिलास, पानी तताउने कित्ली र मुक्काले आक्रमण गरेकाे घटना बाहिरिएकाे हाे ।
रातिको ड्युटी सकि हातमुख धोएर ब्रस गर्ने क्रममा धारामा निहुरिरहेको अवस्थामा खड्काको टाउकोमा पुरीले रड प्रहार गरेको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले बताएको छ । रड प्रहारबाट गम्भिर घाइते खड्काको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले घटनाको गम्भिर भत्सर्ना गर्दै आक्रमणकारी पुरीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । युनियनका महासचिव शंकर बहादुर क्षेत्रीले एक विज्ञप्ति जारी गरी कर्मचारीहरुको जिउ ज्यानको सुरक्षा गर्न स्थानीय प्रशासन र विद्युत प्राधिकरण व्यवस्थापनसँग माग गरेका छन् । घटनालाई चितवन प्रहरीले गुपचुप राखेको छ ।
पुरीले खड्कालाई यसअघि पनि दुर्व्यवहार गर्ने र कुटपिट गर्ने गरेको पाइएको छ । करिब एक वर्ष अगाडि जिल्ला प्रहरी कार्यालयमै जाहेरी परेको थियो । तर, अब आइन्दा कुटपिट नगर्ने बताएपछि पुरीविरुद्धको जोहरी खड्काले फिर्ता लिएका थिए ।