चितवन । पूर्वी चितवनको रत्ननगर वडा नं ७ स्थित दुई वटा मुसहर बस्तीमा थप २० घरधुरीमा आइतबार सुधारिएको चुलो वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले मुसहर समुदायमा वनप्रतिको निर्भरता हटाउन र महिलाहरुको स्वास्थ्य सुरक्षाको लागि मालपुर र सिसुवार बस्तीमा सुधारिएको चुलो वितरण गरेको हो ।
केही समय अघि ३० घरधुरीलाई चुलो वितरण गरिएकोमा आइतबार थप २० घरधुरीलाई सुधारिएको चुलो प्रदान गरिएको हो । वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा सदस्य राजु आचार्य र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले चुलो हस्तान्तरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष महतोले सुधारिएको चुलोले महिलाहरुको स्वास्थ्यमा पर्ने प्रतिकुल असर कम हुने विश्वास व्यक्त गरे । धुँवाबाट लाग्ने रोगले मुसहर महिलाहरु ग्रसित हुने गरेको भन्दै उनले सुधारिएको चुलो प्रयोग गर्दा धुवा कम आउने महिलाहरु रोगको सिकार हुनुनपर्ने बताए । उनले मुसहर समुदायको जीवन स्तर उकास्न प्रर्वधनात्मक तथा सीपमुलक कार्यक्रमलाई जोड दिएको उनको भनाई छ ।
इम्प्याक्टका अध्यक्ष गिरीले समुहर समुदायको स्वास्थ्य जोगाउन सुधारिएको चुलो वितरण तथा प्रयोगमा जोड दिएको भन्दै दाउरा लिन जंगल जादा हुने जोखिम घटाउन, स्वास्थ्य जोगाउन र वनप्रतिको निर्भरता हटाउन सुधारिएको चुलो वितरण गरिएको बताए । मुसहर समुदायको जीवन स्तर उकास्न सामुहिक तरकारी खेती, साबुन उत्पादनमा महिलालाई रोजगारी तथा सुधारिएको चुलो निर्माणमा समेत मुसहर समुदायलाई रोजगारी प्रदान गरिएको उनले बताए । ग्यास खरिद गर्न नसक्ने अबस्था रहेका समुदायलाई चुलो वितरणको लागि उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको बताए । सपनाका घरहरु परियोजना अन्तर्गत चितवन जिल्लामा विपन्न समुदायका लागि ४५ वटा घर निर्माण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।