चितवन । भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको शव ल्याइँदै छ । तीन शव आज रातिसम्म आइपुग्ने जानकारी पाएको माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले बताइन् । शवको शुक्रवार बेलुका पोष्टमार्टम सकिएपछि शव बोकेको एम्बुलेन्स नेपालतर्फ प्रस्थान गरेको हो ।
बद्रीनाथदेखि केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीन जना र दैलेखका एक जना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाईं, वडा–१ भंगताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा–५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोले पुरेर घटनास्थलमा मृत्यु भएको हो ।
पहिरोमा परी नगरवासीको मृत्यु भएको जानकारी पाएपछि माडीकी नगरप्रमुख महतो मृतकका परिवारलाई भेट्न पुगेकी थिइन् । मृतक तीनै जनाको परिवारको आर्थिक स्थिती नाजुक रहेको पाएको उनले बताइन् । मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकले आवश्यक निर्णय गर्ने उनको भनाई छ ।
‘मैले मृतक तीनै जनाको परिवारलाई भेटेर आएँ । तीन जनाको परिवारको आर्थिक अवस्था नाजुक रहेछ’, उनले भनिन्, ‘मृतकको शव आज बेलुकासम्म माडी आइपुग्छ । मृतकका परिवारलाई राहत दिने विषयमा चाँहि अब बस्ने कार्यपालिका बैठकले निर्णय गर्ने छ ।’
परिवारजन उतै रहेकाले दैलेखका दीपकको शव रुद्रप्रयागमै दाहसंस्कार गरिने भएको छ । पेट्रोल पम्प र बाटो निर्माणमा मजदुरका रूपमा काम गर्दै आएका उनीहरू पवन हंस हेलिप्याडनजिकैको शिविरमा बस्थे ।