चितवन । चितवनमा दोस्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला शुक्रवारदेखि सुरु भएको छ । महिला उद्यमी मञ्चको आयोजनामा उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट गर्ने र दिगो उद्यमशिलतालाई टेवा पुर्याउने उद्देश्यका साथ मेला आयोजना गरिएको हो ।
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्री सुकमाया तामाङ्गले शुक्रवार मेलाको उद्घाटन गरेकी हुन् । महिला उद्यमी मञ्चकी अध्यक्ष सिर्जना सोतीका अनुसार मेलामा महिलाका लागि स्वरोजगार र उद्यमशीलताका पुर्याउने सीप विकासका सम्भावना खोज्ने, तीज पर्वलाई उद्यमशिल सम्बन्धि अनुभवहरु साट्दै सामुहिक रुपमा मनाउने लक्ष्य राखिएको छ ।
भदौको ११ गतेसम्म चल्ने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । चितवनका सम्पूर्ण पालिकाहरुबाट आउने अवलोकनकर्ताहरुलाई निःशुल्क वस सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा महिला उद्यमीले गरेको उत्पादनसहितका ६० वटा स्टल राखिएका छन् । जसमा हस्तकलाका सामान, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवालगायतका स्टलहरु रहेका छन् ।
मेलामा अस्मिता डल्लाकोटी, श्याम राना, प्रकाश पराजुली, पार्वती भुजेल लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । साथै मेलामा तीज गीत प्रतियोगिता, महिला उद्यमशिलताको सम्भावना, अवसर र चुनौती शीर्षकमा प्यानल छलफल सहित नीतिगत वहस, उद्यमशिलता सम्बन्धि ज्ञान आदानप्रदान तथा उद्यमी उत्प्रेरणाका कार्यक्रमहरु रहने छ ।
महिला उद्यमशिलताको प्रबर्द्धन गर्न र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लाई सहयोग पुग्नेगरी ‘दोस्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला’ गरिएको मञ्चकी अध्यक्ष सोतीले बताइन् । उनले भनिन्, ‘तीजको अवसर पारेर मेलामा महिलाहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्ने, नेपालका साना महिला उद्यमीहरुलाई प्रवर्द्धन गर्न र उनीहरुका लागि बजार खोज्ने, ब्रान्ड र कम्पनीको छवि बढाएर महिला उद्यमीहरूको उत्पादन गर्न मेलाको आयोजना गरिएको हो ।’
उनले सेवाहरू प्रवर्द्धन गर्ने, उत्पादनको बजारीकरणका लागि महिला उद्यमीको सञ्जाल फराकिलो गर्न सहयोग पुगोस भन्ने हेतुले यो मेलाको आयोजना गरिएको बताइन् ।